ad

गाईबस्तु दुहुने यन्त्रप्रति किसान आकर्षित

Nepal Live

ललितपुर– एकै पटकमा धेरै गाईको दूध दुहुुनका लागि किसानले ‘मिल्किङ पार्लर’ को प्रयोग सुरु गरेका छन्। 

केही वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले ‘मिल्किङ पार्लर’को प्रयोग सुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन्। व्यावसायिक रुपमा १० वा त्योभन्दा बढी गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन्। 

एकपटकमा १० वटासम्म गाई दुहुने यन्त्र नेपाल भित्रिएका छन्। यी उपकरणका कारण जनशक्ति बचत हुने उनी बताउँछन्। उनले भने,‘मिल्किङ पार्लरले केही मिनेटमा सबै दूध दुहिसक्छ।’ 

दूधलाई सफा बनाउनका लागि पनि मिल्किङ पार्लरले सहयोग गर्ने डा झाले बताए। ‘किसानले गोठको अरु काम सकेर दूध दुहुँदा हात सफा नहुन सक्छ तर यन्त्रले गर्दा दूध सफा हुने बढी सम्भावना हुन्छ।’ धेरै संख्यामा पशु पाल्नेका लागि ‘मिल्किङ पार्लर’ सजिलो भएको किसानले बताउँदै आएका छन्। हातले दुहुँदा किसानले दूध सबै दुहुन नसके पनि उपकरणले सबै निखार्छ। 

शहरी क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्नेको संख्या बढ्दा विभिन्न उपकरणको प्रयोग बढ्दो छ। पशुपालनमा प्रयोग हुने उपकरण ग्रामीण क्षेत्रसम्म भने फैलन सकेको छैन। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार