काठमाडौं– सुन तस्करीमा सघाएको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका अवकाशप्राप्त डिआईजी गोविन्द निरौलालाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा कारबाही अघि बढेको छ। सोमबार मोरङ जिल्ला अदालतले उनलाई थुनामा राख्न प्रहरीलाई म्याद दिएको छ। विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी तथा सोही घटनामा मोरङका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानको
क्रममा उनी आइतबार पक्राउ परेका हुन्। छानबिन समितिले सोधपुछमा बोलाएकोमा उनको संलग्नताको प्रमाण भेटिएपछि मुद्दा चलाउन मोरङ पठाइएको थियो। सोमबार नै मोरङ लगेर उनको म्याद थप भएको हो।
विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा काम गर्दा उनले सुन तस्करीमा सघाएको छानबिन समितिको आशंका छ। तस्करीका नाइके चुडामणि उप्रेतीसँग उनको निकटस्थ सम्बन्ध थियो। छानबिन समितिसँगको बयानको क्रममा उनले उप्रेतीसँग चिनजान मात्र भएको र तस्करीमा सहयोग नगरेको दाबी गरेका थिए। शाक्यको हत्या मुद्दामा उनी पनि प्रतिवादी बन्ने भएका छन्।
तस्कर समूहसँग मिलेमतो देखिएपछि गत वर्ष नै उनलाई विमानस्थलबाट सरुवा गरिएको थियो। सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको छानबिन समितिले अन्य केही बहालवाला प्रहरी अधिकारीसँग पनि सोधपुछ थालेको छ।
नेपाल एयरलाइन्सका थप कर्मचारी पक्राउ
तस्करीमा संलगन नेपाल एयरलाइन्सका थप दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमर डंगाले र तुलाराम थारु छन्। उनीहरु दुवै जना एयरलाइन्सका लोडर हुन्। सुन भएका सुटकेशहरु विमानस्थलबाट पास गर्न उनीहरुहले सहयोग गर्दै आएका थिए।
सो घटनामा संलग्न नेपाल एयरलाइन्सका तीन कर्मचारीहरु यसअघि पक्राउ परेका थिए। राजन थापा, राजु महर्जन र प्रेमलाला चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये थारुले प्रहरी हिरासतमै आत्महत्या गरेका थिए।
प्रहरीले थाइ एयरलाइन्सका ८ कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ। घटनामा संलग्न हालसम्म २१ जना पक्राउ परिसकेका छन्।
शाक्य हत्याको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीको अनुसन्धान गर्दा विमानस्थलबाट सेटिङमा ५ वर्षदेखि हुँदै आएको सुन तस्करी पर्दाफास भएको हो। तस्करीकै ३३ किलो सुन लुकाएको हुनसक्ने आशंकामा शाक्यको हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।