काठमाडौं– पूर्व राज्यमन्त्री एवं पूर्वसांसद सञ्जय साह ‘टक्ला’को सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा थुनछेक सुनुवाइ सुरु भएको छ।
न्यायाधीशहरु द्वारिकामान जोशी, चन्दबहादुर वागचन्द र चण्डीराज ढकालको इजलासमा साहको शुद्धीकरण मुद्दामा आरोपिहरुको बयान सुरु भएको हो। सम्पत्ति शुद्धीकरण विभागले साहसहित १३ जनालाई विपक्षी बनाएको छ। आरोपितमध्ये ओमप्रकाश साहको बयान सुरु भएको छ। मंगलबार बयान समाप्त भएमा थुनछेक बहस हुने अदालतले जनाएको छ।
विभागले साह विरुद्ध ३२ करोड ४ लाख ५० हजार सम्पत्ति गैरकानुनी आर्जन गरेको दाबी गर्दै विशेषमा चैत १६ गते मुद्दा दायर गरेको थियो। साहले विभिन्न गैरकानुनी गतिविधिबाट रकम आर्जन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन विपरीत कार्य गरेको दाबी आरोपपत्रमा उल्लेख छ। उक्त मुद्दामा साहलाई बुधबार अदालतमा पेश गर्ने तयारी गरिएको छ।
साह विरुद्ध यसअघि विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले सांसद र मन्त्री हुँदा पदको दुरुपयोग गर्दै साहले ३१ करोड बराबरको रकम अवैध आर्जन गरेको दाबी गरेको थियो। उक्त मुद्दा विशेषमा विचाराधीन छ। जनकपुरमा बम विस्फोटको अभियोगमा जिल्ला अदालत धनुषाको आदेशले थुनामा रहेका साह विरुद्ध अदालतमा विचाराधीन मुद्दा तीन वटा पुगेको छ।
सम्पत्ति शुद्धीकरण विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जबर्जस्ती असुली लगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको चल-अचल गरी ३२ करोडको सम्पत्ति भेटिएको आरोपपत्रमा उल्लेख छ।
साह विरुद्ध जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगको अनुसन्धानसँगै विभागले उनी तथा आफन्तका नाममा भएको चल-अचल सम्पत्ति समेत छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई २ वर्षअघि जिम्मा दिएको थियो।
साहलाई २०६९ बैसाख १८ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएको बम विस्फोट र २०६६ फागुन १७ मा सञ्चार उद्यमी सिंघानिया हत्याका मुख्य योजनाकार भएको अभियोग लगाइएको छ।
जनकपुर बम विस्फोटका मुख्य अभियुक्तको आरोपमा पूर्व राज्यमन्त्री सञ्जय साह अहिले जेलमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।