चितवन- महिलामाथि तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।
गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको हो। दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत खनियाँले आइतबार श्रेष्ठलाई तेजाब प्रहार गरेका थिए।
श्रेष्ठका पति तारा दल गण बारामा कार्यरत नेपाली सेनाका जवान किसान श्रेष्ठले भरतपुर महानगरपालिका– १२ का ५१ वर्षीय खनियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका हुन्। जाहेरीमा ज्यान मार्ने आशयले तेजाब छर्किएको उल्लेख छ।
प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले खनियाँलाई आजै म्याद थप गरी विस्तृत अनुसन्धान थाल्ने बताए। तेजाब छर्किएपछि घाइते भएकी श्रेष्ठको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ। आर्थिक गणनामा गणकका रुपमा कार्यरत २८ वर्षीया श्रेष्ठको शरीरको कान, आँखा, छाती र खुट्टामा तेजाब परेको छ।
अस्पतालमा उपचाररत श्रेष्ठले खनियाँले आफूलाई लामो समयदेखि पछ्याउँदै आएको बताएकी छन्। यसअघि पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउने गरेपछि आफू र श्रीमान् मिलेर प्रहरीमा खनियाँविरुद्ध उजुरी दिएको उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।