काबुल– अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ। सो घटनामा १ सय १९ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा २१ जना महिला र ५ जना बालबालिकासमेत रहेका प्रहरीले बताएको छ।
नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू मतदाता दर्ता कार्यालय अगाडि रहेका समय स्थानीय समयानुसार बिहान १०ः१० मा आत्मघाती कार बम बिस्फोट गराइएको थियो।
घटनास्थललाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। उपचाररत कतिपय घाइतेलाई गहिरो चोट लागेकोले मृतकको सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ।
घटनाको जिम्मेवारी अन्तर्राष्ट्रिय आतंकवादी संस्था इस्लामिक स्टेट(आइएस)ले लिएको छ।
अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल १ तारिखका दिन आउँदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो।
अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।