काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक गरेको छ।
आइसिसीले शुक्रबार सार्वजनिक गरेको छनोट तालिकामा नेपाल एसिया छनोटको समूह 'बी' मा परेको छ। नेपाल सम्मिलित समूहमा भुटान, चीन, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्यान्ड छन्। प्रतियोगिता मलेसियामा आगामी २ देखि १३ अक्टोबरसम्म हुनेछ।
पहिलो चरणको यो छनोटबाट शीर्ष ३ टिम दोस्रो चरणको छनोटमा पुग्नेछन्। एसिया छनोटको समूह 'ए' बाट पनि ३ टिम दोस्रो चरणमा छनोट हुनेछन्।
सन् २०१९ मा हुने दोस्रो चरणको छनोटमा एसियाका ६ टिमबीच प्रतिस्पर्धा गर्नेछन्। ६ टिम मध्ये उत्कृष्ट २ टिमले अन्तिम चरणको छनोट खेल्न पाउनेछन्।
अन्तिम चरणको छनोटमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ विभिन्न महादेशबाट छानिएका ८ टिम र सन् २०१८ को डिसेम्बर सम्मको शीर्ष १० वरीयता भित्र नपर्ने ६ टिम गरी १४ टिम हुनेछन्।
१४ टिमबाट शीर्ष ६ टिम सन् २०२० को विश्वकपमा छनोट हुनेछन्। छनोट पार गरेका ६ टिम र शीर्ष वरीयता पाएका १० टिम गरी कुल १६ टिमबीच सन् २०२० को टी–२० विश्वकपमा प्रतिस्पर्धा हुनेछ।
नेपालको सम्भावना
नेपालले सन् २०२० को विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्नेछ।
नेपालले पहिलो चरणको छनोटमा भुटान, चीन, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्यान्डसँग भिड्नेछ। यहाँ शीर्ष ३ भित्र परे नेपाल दोस्रो चरणमा छनोट हुनेछ। दोस्रो चरणको छनोटमा एसियाको समूह 'ए' का शीर्ष ३ टिम गरी ६ टिम बीच प्रतिस्पर्धा हुनेछ। एसियाको समूह 'ए' मा बहराइन, कुवेत, कतार, साउदी अरेबिया, माल्दिभ्स र युएई छन्। यी मध्ये शीर्ष ३ टिम एसियाको दोस्रो चरणको छनोटमा पुग्नेछन्।
एसिया छनोटको दोस्रो चरणमा पुग्ने ६ टिम मध्ये २ टिम मात्र अन्तिम चरणको छनोटमा पुग्नेछन्। पहिलो चरण पार गरेको अवस्थामा नेपालले अन्तिम चरणमा पुग्न ६ मध्ये शीर्ष २ मा पुग्नु पर्नेछ।
अन्तिम चरणमा नेपाल पुगे विश्वभरबाट छनोट पार गरेका १४ टिमसँग खेल्नेछ। १४ मध्ये शीर्ष ६ भित्र परे नेपालले सन् २०२० को टी–२० विश्वकप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।