यतिबेला म
पुरानो प्रेमपत्र पढेर
बडो भावुक पो भैराको रै'छु
वास्तवमा जो पढ्नुको मतलबै छैन
कुनै तुक नै छैन।
यहाँ
हरेक दिन
हरेक मान्छे
केही न केही पढिरहन्छ-
जो पढ्नुको कुनै तुक नै छैन।
ठीक यतिबेला
डाक्टरले थमाइदिएको
डेथ सर्टिफिकेट पढेर
डाँको छाडिरहेछ एउटा सानो परिवार
सिरानीमा भेटिएको सुसाइड नोट पढेर
एकदम विक्षिप्त छ अर्को परिवार
जो पढेर अब हुनेवाला केही छैन।
धर्मग्रन्थ पढिराख्दा पनि ऊ दु:खी छ
केहीबेरमा उसलाई मृत्युदण्ड दिइँदै छ
केही जोडी पारपाचुकेको दस्तावेज पढेर पनि खुसी छन्।
यति नै बेला
एउटा भ्रष्टाचारी सपथ पढ्दै छ
राजनीतिक पार्टी घोषणापत्र पढ्दै छ
एउटा श्रीमान्
अपराधीलाई सफाइको फैसला पढ्दै छन्
एउटा प्रोफेसर शासकले लेखिदिएको झुटो इतिहास पढाउँदै छ।
कीर्ते मुद्दाको मिसिल पढ्दै छ वकिल
भक्तलाई दान गर्न उक्साउँदै छ पण्डित
आफू चाहिँ महँगो पारिश्रमिक लिएर पुराण पढ्दै छ।
सरकार पढ्दै छ
रातो कार्पेट हुँदै माथि उक्लिएर बजेट भाषण
राष्ट्रको नाममा सन्देश
पुरानो हस्तलिखित सन्धि-सम्झौता
ठेकेदारले बुझाएको फर्जी बिल
जो छापिनेछन् हुबहु नक्कल
बासी अखबारहरुमा
तपाईं त्यही समाचार ध्यान दिएर पढ्नुहुनेछ-
जो पढ्नुको कुनै तुक नै छैन
उदासीन स्वरमा
लेघ्रो तानेर बरु सही बात भन्छन् धनीलाल-
'पासपोट बना रे बौवाss
परेर के हुन्छ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।