काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसिसी) ले प्रस्ताव गरेको विधान हुबहु पारित गरेको छ। बिहीबार काठमाडौंमा भएको साधारसभाले विधान हुबहु पारित गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले नेपाल लाइभलाई जानकारी दिए।
विधान आइसिसीले गठन गरेको सल्लाहकार समितिले बनाएको थियो।
'हाम्रा केहि असहमति भएपनि क्यानमाथिको निलम्बन हटाउनका लागि विधान हुबहु पास गरेका हौं,' महासचिव प्याकुरेलले भने।
साधारणसभामा क्यानका ३७ जिल्लाका प्रतिनिधि र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति थियो। साधारणसभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो।
अब क्यानको निर्वाचनका लागि ५ सदस्यीय मनिटरिङ समिति बन्नेछ। समितिमा ३ जना सदस्य आइसिसीका तर्फबाट हुनेछन् भने निर्वाचित क्यान र परिषद्का १–१ जना सदस्य रहनेछन्।
यसअघि निर्वाचन भइसकेका जिल्लालाई मान्यता दिने बताइएको छ। विवाद र उजुरी परेका जिल्लामा भने मनिटरिङ समितिले छानबिन गर्नेछ। विवादित जिल्लामा समितिले मान्यता दिन वा फेरि निर्वाचन गर्न निर्देशन दिन सक्नेछ। यसअघि ३७ जिल्लाको निर्वाचन भएको थियो। ललितपुर र भक्तपुरमा जिल्ला क्रिकेट संघको भने निर्वाचन हुन सकेको थिएन।
जिल्लाको निर्वाचनपछि अब प्रदेश र केन्द्रीय समितिको निर्वाचन हुनेछ। केन्द्रीय समितिको निर्वाचनपछि आगामी जुलाईमा बस्ने आइसिसीको बैठकमा क्यानमाथि लगाएको निलम्बनको विषयमा प्रस्ताव पेश हुनेछ।
आन्तरिक विवाद र सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले क्यानलाई ०७३ बैशाखमा निलम्बन गरेको थियो। त्यसपछि आइसिसीले नै नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।