काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थगित भएको केन्द्रीय समितिको निर्वाचन वैैशाख पहिलो साता नहुने भएको छ। यसअघि अदालतमा परेको मुद्दा भ्याकेट(बदर गर्न) का लागि एन्फाले मंगलबार निवेदन दिने तयारी गरेको छ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले कानुनविद्सँग छलफले गरेर अघि बढेको बताए। ‘हामी मंगलबार मुद्दा भ्याकेट गर्नका लागि निवदेन दिने योजनामा छौँ,’ श्रेष्ठले नेपाल लाइभसँग भने।
यसअघि वैशाख पहिलो साता निर्वाचन गर्ने सहमति भएपनि अब अदालती प्रक्रिया पूरा भएको १० दिनपछि निर्वाचन हुने श्रेष्ठले बताए। उनले भने, ‘कानुनी जटिलता नआओस भन्नेमा सचेत छु। एन्फाको निर्वाचन समितिले पनि अदालती प्रक्रिया सकिएपछि निर्वाचन गर्न १० दिनको म्याद चाहिने बताएको छ।’
श्रेष्ठले आफ्नो लागि अहिले एन्फा निर्वाचन महत्वपूर्ण काम भएकोले पनि सबै पक्षलाई धैर्य गर्न आग्रह समेत गरे। ‘सबै काम छाडेर म अहिले एन्फा निर्वाचन सम्पन्न गराउन लागि परेको छु। आफु निर्वाचनमा पनि उत्रिएको छैन। सकेसम्म चाँडो नेतृत्व हस्तान्तरण गर्न चाहान्छु,’ उनले भने।
श्रेष्ठका १८ बुँदे कार्ययोजना, पुरा एउटा मात्रै
गत २०७३ कार्तिकमा एन्फा अध्यक्षमा निर्वाचित हुनुअघि श्रेष्ठले १८ बुँदे कार्ययोजना अघि सारेका थिए। तर श्रेष्ठको पहिलो कार्ययोजनामा रहेको एएफसी सोलिडारिटी कप जित्नुबाहेक अन्य प्रतिवद्धता पूरा भएको छैन। श्रेष्ठ नेतृत्वले लिग लगायतका महत्वपूर्ण प्रतिवद्धता पूरा गर्न सकेन।
अर्कोतर्फ नेतृत्व हस्तान्तरण गर्न पनि एन्फा नेतृत्व उदासिन देखिएको छ। एन्फा निर्वाचन पनि ४ पटक सरिसकेको छ। एन्फाको केन्द्रिय कार्यसमितिको पदावधि २०७४ कार्तिकमा सकिएको थियो। तर एन्फाले विधान संशोधन गर्ने निर्णय गर्दै निर्वाचन पुस १७ का लागि तोक्यो। पुस १७ मा हुने भनिएको निर्वाचन माघ ११ का लागि सारियो। त्यतिबेला पनि निर्वाचन हुन सकेन र चैत १४ का लागि अर्को मिति तोकियो। चैत १४ मा हुने निर्वाचनविरुद्ध पनि अदालतमा मुद्दा परेपछि फेरि निर्वाचन स्थगित भएको थियो।
अध्यक्षमा निर्वाचित हुँदा गरेका अधिकांश प्रतिवद्धता पूरा नगरेका श्रेष्ठका लागि अब एन्फा केन्द्रीय कार्यसमितिको निर्वाचन गराउनु अन्तिम परिक्षाको रुपमा देखिएको छ। किनकी एन्फा निर्वाचन समयमै नगर्दा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) रुस्ट छ। फिफाले समयमै निर्वाचन नगराए एन्फालाई निलम्बन गर्नसक्ने चेतावनी समेत दिइसकेको छ। पछिल्लो पटक एसियाली फुटबल महासंघ (एएफसी)ले पनि निर्वाचन समितिमार्फत निकट भविष्यमा निर्वाचनको मिति तोक्न पत्र पठाएको थियो।
अन्तिम परीक्षा एन्फा निर्वाचन
एन्फा निर्वाचनले नेपाली फुटबलको भविष्य अन्योलतर्फ धकेलिरहेको बेला अब समाधान गर्ने अन्तिम विकल्प नेतृत्वकै हातमा छ। ‘चार दशक नेपाली फुटबलमा बिताएकाले फुटबलको राम्रो होस् भन्ने चाहान्छु। त्यसका लागि पहल गरिरहेको छु। भन्नलाई सजिलो छ तर केहि अवरोध आएकोले काम गर्न गाह्रो भएको हो। त्यसैले अब अवरोधविनाको निर्वाचन गराउन केन्द्रीत छु,’ अध्यक्ष श्रेष्ठले भने।
फिफाको कारबाहीबाट जोगिन र नेपाली फुटबललाई नयाँ गति दिन निर्वाचन अन्तिम परीक्षाको रुपमा अघि देखिएको छ। समयमै निर्वाचन भए एन्फा नेतृत्व पास हुने तर निर्वाचन नभए पुरै नेपाली फुटबल अन्योलतातर्फ धकेलिनेछ। श्रेष्ठ एन्फा निर्वाचनलाई आफ्नो परीक्षा भएको स्विकार गर्छन्। ‘कापी पनि नदिने कलम पनि नदिने अनि परीक्षामा लेख् भनेर कसरी लेख्न सकिन्छ। मैले भन्न खोजेको साथीहरुले निर्वाचनको लागि वातावरण बनाउन सहयोग गर्नुपर्यो,’ श्रेष्ठले भने।
चुनावी दाैडमा शेर्पा र कुँवर
आगामी निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवरबीच प्रतिस्पर्धा हुँदैछ।
शेर्पाले नेपाली फुटबलमा देखिँदै आएको विसंगतिविरुद्ध आवाज उठाउँदै आएका छन्। उनैले चलाएको ‘सेभ नेपाली फुटबल’ अभियानमार्फत एन्फामा दुई दशक नेतृत्व गरेका गणेश थापा भ्रष्टचारको आरोपमा दोषी ठहर भई १० वर्ष फुटबलबाट प्रतिबन्धमा परेका हुन्।
शेर्पासँग अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका कुँवरलाई गणेश थापाको समर्थन रहेको छ। प्रतिबन्धका कारण प्रत्यक्ष रुपमा समर्थन जुटाउन नमिले पनि थापाले अप्रत्यक्ष रुपमा कुँवरका पक्षमा लबिङ गरिरहेका छन्।
शेर्पालाई भने एन्फाका पूर्व सिइओ तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर र राष्ट्रिय टिमका पूर्वप्रशिक्षक कृष्ण थापाले समर्थन गरेका छन्। शेर्पालाई एन्फाका उपाध्यक्षहरु किशोर राई, विजयनारायण मानन्धर र वीरबहादुर खड्काको पनि साथ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।