कोलकता- आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स तेस्रो खेलमा पराजित भएको छ। दिल्लीलाई सोमबार भएको खेलमा कोलकता नाइटराइडर्सले ७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो। दिल्लीले खेलेका चार मध्ये १ खेलमा मात्र जित निकाल्न सकेको छ। कोलकताको भने यो चार खेलमा दोस्रो जित हो।
खेलमा दिल्लीले नेपाली युवा बलर सन्दीप लामिछानेलाई चौथो खेलमा पनि पहिलो रोजाइमा राखेको थिएन।
कोलकताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा १ सय २९ रनमै अलआउट भयो। दिल्लीका लागि ग्लेन म्याक्सवेलले २२ बलमा ४७ र रिशव पन्तले २६ बलमा ४३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
दिल्लीको इनिङ ध्वस्त पार्ने क्रममा कोलकताका कुलदिप यादव र सुनिल नारिनले ३-३ विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ९ विकेट गुमाएर २ सय रन जोड्यो। कोलकताका लागि क्रिस लियोनले २९ बलमा ३१ रन जोडे। रोबिन उथप्पाले ३५ रनको योगदान दिए। आक्रामक ब्याटिङ गरेका नितिश रानाले ३५ बलमा ५९ रन जोडे। उनले ५ चौका र ४ छक्का प्रहार गरे। आन्द्रे रसेलले १२ बलमा ४१ रन जोडेपछि कोलकताको इनिङ मजबुत बन्यो। उनले ६ छक्का प्रहार गरे। बलिङतर्फ दिल्लीका राहुल टेवइटाले ३ विकेट लिए। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए। ट्रेन्ट बाउन्ट र क्रिस मोरिसले २-२ विकेट हात पारे। मोहमद सामी र साहवाज नदिनले १-१ विकेट आआफ्नो नाममा देखाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।