ad

केक काटेर दुर्लभ वन्यजन्तु रेडपान्डाको जन्मोत्सव मनाइयो

Nepal Live

रसुवा– मान्छेको जन्मदिन केक काटेर मनाउने गरेको हामीले देखेकै छौं। तर, वन्यजन्तुको जन्मदिन मनाएको बारे उति धेरै जानकारी नहुन सक्छ। तर, रसुवा सदरमुकाम धुन्चेमा दुर्लभ वन्यजन्तु रेडपान्डाको जन्मदिन केक काटेर मनाउँदै आइएको छ। 

वैशाख १ देखि सुरु भएको २३औं वन्यजन्तु सप्ताहको अवसर पारेर सोमबार रेडपान्डाको ९औं जन्मोत्सब मनाइएको छ। छैटौं लाङटाङ पर्यटन तथा संरक्षण उत्सवमा एक समारोहबीच रेडपान्डाको नवौं जन्मोत्सब मनाइएको हो। रेडपान्डाको जन्मोत्सवमा प्रदेशसभा सांसद प्रभात लामाले केक काटेका थिए। रसुवामा ९ वर्ष अघिदेखि रेडपान्डाको जन्मदिन मनाउन सुरु गरिए पनि २०७२ देखि भने केक काट्न थालिएको हो। 

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मिले भने, ‘हामीले विगतका वर्षदेखि रेडपान्डाको जन्मोत्सव मनाउँदै आएका थियौं। गत वर्षदेखि हामीले वन्यजन्तु सप्ताहको अवसरमा वैशाख ३ गते औपचारिक रुपमा केक काटेर रेडपान्डाको जन्मोत्सब मनाउन थालेका छौं।’

वन्यजन्तुको जन्मदिन मनाउँदा दुर्लव वन्यजन्तु रेडपान्डाको संरक्षण गर्न सहयोग पुग्ने रेग्मीले बताए। धुन्चेस्थित पुरानो स्वागतद्वारदेखि बालमन्दिरसम्म र्‍यालीसहित रेडपान्डाको जन्मदिन मनाइएको हो।

लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज ल्याकोसका अध्यक्ष सन्तोष घलेले रेडपान्डाको संरक्षण गर्न हरेक सभा, समारोह लगायत गाउँस्तरमा जनचेतना फैलाउँदै ऐक्यबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘पर्यटकीय क्षेत्र रसुवामा पाइने दुर्लभ वन्यजन्तु रेडपान्डालाई चिनाउन सबै पक्षको उत्तिकै सहयोग चाहिन्छ।’

लाङटाङ राष्ट्रिय निकुञ्जमा ८० भन्दा बढी रेडपान्डा रहेको निकुञ्जले जनाएको छ। केही वर्षअघि गरिएको गणनामा ८० भन्दा बढी रेडपान्डा रहेको तथ्यांक आएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए। निकुञ्जको चोलाङ्पाटी, घ्याङ्फेदी र टिम्बु क्षेत्रमा रेडपान्डा पाइन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत