काठमाडौं– सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीच भेटवार्ता भएको छ।
सभामुख महरा र सहायक महासचिव मिरोस्ल्याभ जेन्काबीच आज संसद सचिवालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाका विषयमा कुराकानी भएको थियो।
भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास सुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि ऐन, कानूनहरु निर्माण गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताएका थिए।
शान्ति प्रक्रियाका धेरै कामहरु सम्पन्न भइसकेको भन्दै सभामुख महराले अब देश आर्थिक समृद्धि र विकासतर्फ केन्द्रित भएको जानकारी दिए।
‘संयुक्त राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाका लागि म तपाईं मार्फत राष्ट्रसंघलाई विशेष धन्यवाद दिन चाहन्छु।’, उनले भने, ‘शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरु करिब–करिब सम्पन्न भएका छन्। हामी अहिले दिगो शान्ति र देशको समृद्धितर्फ केन्द्रित भएका छौं।’
३ चरणका निर्वाचनमार्फत् स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको बताउँदै सभामुख महराले ५ वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी सरकार विकास र समृद्धितर्फ केन्द्रित रहेको बताए।
सो भेटमा सहायक महासचिव जेन्काले दिगो, शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको बताएका थिए। उनले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकोमा खुशि व्यक्त गर्दै जेन्काले संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकोमा खुसी व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।