सुर्खेत– सुर्खेतमा एक युवकले विवाह गर्ने आश्वासन दिएर युवतीको हत्या गरेको रहस्य खुलेको छ। बराहताल गाउँपालिका वडा नम्बर ८ कुनाथीका सुवास बोहराले गत पुस ४ मा पञ्चपुरी नगरपालिका २ सालकोटकी गीता चपाईंको हत्या गरेको रहस्य खुलेको हो।
गीताको हत्यापछि फरार रहेका बोहरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि हत्याको रहस्य खुलेको हो। पञ्चपुरीकै जामुने वनमा गत माघ ९ मा गीताको टाउकोको कंकाल फेला परेको थियो। त्यसपछि घटनाको अनुसन्धान थालेको प्रहरीले अभियुक्त बोहरालाई भुम्ति गाउँपालिका–४ काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको हो।
झन्डै चार महिनापछि पक्राउ परेका अभियुक्त बोहरालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ। प्रहरीलाई दिएको वयानमा बोहराले मानसिक दवावमा परी योजनबद्ध तरिकाले गीताको हत्या गरेको स्वीकार गरेका छन्।
प्रहरीका अनुसार बोहराले पहिले गीतालाई भीरबाट धकेलेका थिए । भीरबाट लडेर घाइते भएकी गीताको घाँटी थिची खोल्सामा फालेका थिए।
‘गीताले लगाएको चप्पल भिरमाथि नै पाइयो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले घटनाबारे जानकारी दिँदै भने, ‘घाँटी थिचेर हत्या गरी शब त्यहीँ छाडेको देखिन्छ।’ हालसम्म टाउकोको कंकाल मात्रै भेटिएकाले हत्या कसरी भयो भन्नेबारे अनुसन्धान गर्न चुनौती बनेको उनले बताए।
एसपी चतुर्वेदीका अनुसार हत्यापछि गीताले प्रयोग गर्ने गरेको मोबाइल सेट समेत लिएर बोहरा भागेका थिए। बोहराको कल डिटेलअनुसार फोन र फेसबुक म्यासेन्जरमा भएका कुराकानी अनुसार अनुसन्धान गर्दै जाँदा बोहरा पक्राउ परेका हुन्। उनीसँग गीताको फोन फेला परेको छ।
‘अनुसन्धानका क्रममा फोन डिटेल हेर्दा नयाँ नम्बरबाट ३७ सेकेन्ड फोन गरेको पाइयो,’ एसपी चतुर्वेदीले भने, ‘फेसबुकमा च्याट गर्दा भेटौं न, केही गर्दिनँ जस्ता कुराकानी भएको छ, हत्या उसले नै गरेको हो।’ प्रहरीले हत्या अभियोगमा पक्राउ परेका सुवासमाथि जिल्ला अदालत सुर्खेतमा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा आरोपित बोहराले दिएको वयान अनुसार गत २०७४ वैशाख २८ मा साथी मार्फत उनीहरुको चिनजान भएको थियो । त्यसपछि उनीहरुबीच पटक–पटक फोन सम्पर्क हुन थाल्यो । दुई पटकको भेट र फोनमा भएको कुराकानीपछि उनीहरुबीच शारीरिक सम्पर्क समेत भएको वयान बोहराले दिएको प्रहरीले जनाएको छ । विवाह हुनु पहिले नै गर्भ रहेपछि गीताले सुवाससँग विवाहको प्रस्ताव गरेकी थिइन्। तर, बोहराले भने तत्काल विवाह गर्न अस्वीकार गरेका थिए। विवाह नगरेको खण्डमा जबरजस्ती घरमा आएर आत्महत्या गर्ने धम्की गीताले दिएपछि बोहराले गत पुस ४ गते पुनः गीतालाई भेटेका थिए। भेटका क्रममा उनीहरुबीच विवाहको विषयमा विवाद भयो।
विवाद बढ्दै गएपछि बोहराले गीतालाई विवाह गर्छु भनी आश्वासन दिएको प्रहरीको भनाइ छ। विवाह गर्ने आश्वासन दिएका बोहराले पूर्वयोजना अनुसार जामुने जंगलमा गीतालाई भिरबाट धकेलिदिएको वयान प्रहरी समक्ष दिएका छन्। आजै विवाह गरौं भनी आश्वासन दिएर सालकोट पलैटेदेखि हिँडेका बोहराले योजनाबद्ध रुपमा गीतालाई भिरबाट धककेलेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख एसपी चतुर्वेदीले बताए। ‘पलैटेबाट पञ्चपुरी–८ दुलालथाई छेमाको घर जाऊँ भन्दै गीतालाई लगेको बोहराले अनुसन्धानका क्रममा बताएको छ,’ एसपी चतुर्वेदीले भने, ‘गीताले दुलालथाई जान अस्वीकार गरेपछि बाबियाचौर हिँडेका बोहराले जामुने जंगलमा लगेर हत्या गरेको देखिएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।