काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले अष्ट्रेलियाका राजदूत पिटर बडसँग शिष्टाचार भेट गर्दै प्राविधिक शिक्षा अध्ययन हुने विद्यालय खोल्न आग्रह गरेका छन्।
सिंहदरबारस्थित उद्योग मन्त्री यादवको सचिवालयमा आज भएको भेटमा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको थियो।
सो अवसरमा मन्त्री यादवले अष्ट्रेलिया सरकारले पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद दिँदै नेपालमा लगानी गर्न चाहनेका लागि खुला दिलले सहयोग गर्ने बताएका थिए।
‘लगानीकर्ताको समस्या सम्वोधन गर्न सरकार प्रतिवद्ध छ। उत्पादन क्षेत्रमा लगानी गर्ने सबैलाई नेपालमा स्वागत छ। ढुक्क भएर लगानी गर्ने वातावरण छ।’, उद्योगमन्त्री यादवले भने।
चुलिएको व्यापार घाटा कम गर्न उत्पादन बढाउनु पर्ने र रोजगारी सिर्जना गर्नुपर्ने भएकाले त्यसतर्फ मित्रराष्ट्रको सहयोग अपेक्षा गरिएको बताउँदै मन्त्री यादवले प्राविधिक शिक्षाका क्षेत्रमा सहयोग तथा लगानी विस्तार गर्न आग्रह गरे।
भेटवार्तामा राजदूत पिटरले अष्ट्रेलिया सरकारको सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)ले सञ्चालन गर्दै आएको माइक्रो इन्टरप्राइजेज डेभलपमेन्ट प्रोग्राम(मेडेप) यसै वर्षको जुलाईदेखि सम्पन्न हुन लागेको जानकारी दिएका थिए।
युएनडिपीले सञ्चालन गरेको कार्यक्रमको लागत घटाएर थप प्रभावकारी बनाउनका लागि अष्ट्रेलिया सरकारले सिधै नेपाल सरकारसँग सहकार्य गर्न चाहेको राजदूत पिटरको भनाइ छ।
उनले सरकारसँग सहकार्य गर्दा ३० प्रतिशत खर्च कम हुने जानकारी समेत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।