काठमाडौं– उद्योग विभागमा चालू आर्थिक वर्षको ८ महिनामा विदेशी लगानीका १ सय ९४ उद्योग दर्ता भएका छन्।
विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला ४ र साना १ सय ८० उद्योग दर्ता भएका हुन्। विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १ सय ९४ उद्योग दर्ता गरेको हो।
स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन्।
दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक ४, सूचना, प्रसारण तथा सञ्चार प्रविधिका १७, उत्पादनमूलक ३९, खनिजको १, सेवामूलक ६२ र पर्यटनका ६० उद्योग रहेका छन्। विभागले १० करोड रुपैयाँभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड रुपैयाँसम्मका मझौला र २५ करोड रुपैयाँभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ। विभागले १ सय ९४ उद्योगबाट ३४ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको लगानी भित्रिएको जनाएको छ। विभागमा हालसम्म झण्डै ७ हजार ५ सय उद्योग दर्ता भएका छन्।
विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताए। ‘अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको छ,’ उनले भने। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।