रसुवा- नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सिसिटिभी जडान गरिएको छ।
गोसाइँकुण्ड गाउँपालिका २ टिमुरेदेखि रसुवागढीसम्म १२ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो। नाकामा हुन सक्ने अवैध क्रियाकलाप रोक्नका लागि टिमुरेदेखि रसुवागढीसम्म १२ वटा क्यामेरा जडान गरिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाले बताए। 'नाकामा आवश्यक प्रविधिको अभावमा अवैध क्रियाकलाप रोक्न समस्या हुँदै आएको थियो, सिसिटिभी जडान गरेपछि निगरानी गर्न सहज हुने अपेक्षा राखेका छौँ,' उनले भने।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारमा पनि सिसिटिभी जडान गरिएको छ। जिल्ला प्रहरी कार्यालयमा ५ वटा र जिल्ला कारागारमा ३ वटा गरी ८ वटा सिसिटिभी जोडिएको प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए।
चीनले अन्तराष्ट्रिय नाका घोषणा गरेसँगै तेस्रो मुलुकका नागरिक समेत रसुवागढी नाकाको प्रयोग गरेर नेपाल भित्रने गरेका छन्। भूकम्प र पहिरोको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका औपचारिक रुपमा सञ्चालनमा आएको थियो।
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको नाकाबाट पछिल्लो समय आयात तथा निर्यात बढ्दै गइरहेको छ। चीनबाट करुको पिठो, रेडिमेट मसला, ड्राई मसरुम, क्वाची, बदाम, प्याज, कफी, ओखर, स्याउ, नास्पाती, लसुन, अचार, भोटे चिया र गुन्द्रुकको आयात हुने गरेको छ। नेपालबाट चीनतर्फ बाँसको मुडा, अम्रिसोको कुचो, बुद्धचित्त, काठको धुप राख्ने स्ट्यान्ड, रुद्राक्ष, काठको प्लेट, काठको आँखीझ्याल लगायतका वनजन्य सामग्री निर्यात हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।