काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज चीन भ्रमणमा जाँदैछन्। आज राति ११ बजे प्रस्थान गर्ने उनको टोली शनिबार स्वेदश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री ज्ञवालीले बुधबार आफ्ना समकक्षी यीसँग भेटघाट गर्ने कार्यक्रम छ। दुई पक्षीय भेटघाटपश्चात् संयुक्त प्रेस वक्तव्यसमेत जारी हुनेछ। चीनका विदेशमन्त्री यीले नेपालका आफ्ना समकक्षीका सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।
बेइजिङमा रहँदा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रिय कांग्रेसका अन्य नेताहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले चिनियाँ बुद्धिजीवीहरुसँग हुने गोलमेच वार्तालाई सम्बोधन गर्नेछन्।
चीनका लागि नेपाली राजदूतवासले मंगलबार परराष्ट्रमन्त्री सहितको टोलीलाई स्वागत गर्न दूतावासमा कार्यक्रम आयोजना गरेको छ।
भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री ज्ञवालीले सिचुआन प्रान्तको चेङ्दु सिटीको समेत भ्रमण गर्नेछन्। सो क्रममा उनले सिचुआन विश्वविद्यालयमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
औपचारिक कार्यक्रमबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने अपेक्षा पनि गरिएको छ। प्रधानमन्त्री ओली बैसाखभित्रै चीन भ्रमणमा जाने तयारीमा रहेकाले परराष्ट्रमन्त्री ज्ञवालीकै भ्रमणका क्रममा प्रधानमन्त्रीको चीन भ्रमणको मिति टुंगो लाग्न सक्ने प्रधानमन्त्री निकटका स्रोतहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।