जितपुर– कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताएका छन्।
मेहनती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै मन्त्री खनालले अब सिधै किसानको हातमा पुग्ने व्यवस्था मिलाइरहेको जानकारी दिए।
आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तुको मायादेवी गाउँपालिका–७ हरनामपुरमा शनिबार आयोजित खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री खनालले सिंहदरबारबाट निस्कने अनुदानको रकम बीचमै हराउने रोगको अब अन्त्य गरिने दाबी गरे।
‘मेहनती किसानलाई राज्यले अनुदान दिन्छ। अब त्यो सिधै किसानको हातमा आउने संयन्त्र निर्माण गर्छौं’, कृषिमन्त्री खनालले भने, ‘किसानको नाममा विगतमा भएका ब्रह्मलुटको अब अन्त्य भइसकेको छ। देशलाई आत्मनिर्भर बनाउन र उत्पादन बढाउन कृषकको योगदान बिर्सन सकिन्न।’
मन्त्री खनालले बाँझो खेतमा हरियाली बनाउने गरी अबको बजेटमा विशेष सुपरजोन लागू गरिने समेत जानकारी दिए। उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको जमिनमा उत्पादन हुने बालीको विशेषताका आधारमा सुपरजोन, जोन तथा पकेट क्षेत्र निर्माण गरिनेसमेत जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।