काठमाडौं– नेपाल लाइभको सम्पादकमा पत्रकार विजय पौडेल नियुक्त भएका छन्। नेपाल लाइभका प्रकाशक अनिल न्यौपानेले पत्रकार पौडेललाई सम्पादकको जिम्मेवारी सुम्पिँदै कार्यालयमा स्वागत गरेका हुन्।
प्रकाशक न्यौपानेले टेलिभिजनमा स्थापित पत्रकार पौडेललाई नेपाल लाइभको सम्पादकको जिम्मेवारी सुम्पिन पाउँदा खुसी लागेको बताए। सम्पादक पौडेललाई स्वागत गर्दै उनले भने, ‘अनलाइन पत्रकारितालाई मर्यादित बनाउँदै लैजानु जरुरी छ। अनलाइन आफैंमा मल्टिमिडियाको स्वरुप भएकाले तपाईंको टेलिभिजन पत्रकारिताको अनुभवले अनलाइनलाई विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।’
लामो समय टेलिभिजन पत्रकारितामा रहेका पौडेलले अनलाइन पत्रकारितालाई नेपाली मिडियाको नयाँ आयामका रुपमा स्वीकारेर जिम्मेवारी लिएको बताए। उनले अनलाइन पत्रकारितालाई विश्वसनीय र दीगो बनाउनेतर्फ आफू क्रियाशील रहने जनाए।
पौडेलले कान्तिपुर टेलिभिजनमा एक दशकभन्दा बढी समय पत्रकारिता गरेका छन्। उनले सञ्चालन गर्ने कार्यक्रम ‘सरोकार’ लोकप्रिय कार्यक्रममध्ये पर्दथ्यो। करिब दुई दशकअघि सगरमाथा एफएमबाट पत्रकारिता सुरु गरेका पौडेल च्यानल नेपाल, कान्तिपुर टेलिभिजन, एपीवान टेलिभिजन हुँदै पछिल्लो समय इमेज च्यानलमा कार्यरत थिए। इमेज च्यानलमा पौडेलले समसामयिक विषयको कार्यक्रम ‘सम्भाष’ सञ्चालन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।