काठमाडौं– २०७५ साल नेपाली खेलकुदका लागि महत्वपूर्ण बन्दैछ। किनकि नेपालले दक्षिण एसियाली खेलकुद यसै वर्ष आयोजना गर्ने कार्यक्रम छ। यो वर्ष एसियाली खेलकुदमा पनि नेपालको सहभागिता रहनेछ।
यो वर्ष नेपालले क्रिकेटमा पनि महत्वपूर्ण प्रतियोगितामा भाग लिँदैछ। एसिया कप छनोटमा युएईसँग भिड्दा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्नेछ। एसिया कपमा छनोट भए नेपालले भारत, पाकिस्तान जस्ता क्रिकेटका हस्ती राष्ट्रसँग एकदिवसीय खेल खेल्ने मौका पाउनेछ।
लर्डस्मा त्रिकोणात्मक सिरिज (साउन)
एकदिवसीय मान्यतासँगै टी–२० मान्यता पाएको नेपालले साउनमा पहिलो पटक टी–२० खेल खेल्नेछ। साउन २९ गते नेपालले नेपालले इंग्ल्यान्डको लर्डस्मा नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) त्रिकोणात्मक सिरिज खेल्नेछ। पहिलो खेल साउन २९ गते लन्डनमा स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ भने तेस्रो खेल दिउँसो साढे ४ बजे हुनेछ। एमसिसीले जनाएअनुसार ३ वटा खेल एकैदिन हुनेछन्। नेपालले २ वर्षअघि पनि एमसिसीसँग लर्डस्मा प्रतिस्पर्धा गरिसकेको छ।
एसियाली खेलकुद (भदौ)
इन्डोनेसियामा भदौ २ देखि १७ एसियाली खेलकुदमा नेपालले प्रतिस्पर्धा गर्नेछ। जहाँ ४० खेलका ४ सय ६२ इभेन्ट्समा एसियाली देशबीच भिडन्त हुनेछ। नेपालका १ सय ७८ खेलाडीले २७ खेलमा प्रतिस्पर्धा गर्ने जनाइएको छ। तर अहिलेसम्म औपचारिक निर्णय गरिएको छैन।
एसियन खेलकुदमा नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जुडो, कराँते, कबड्डी, लनटेनिस, सुटिङ, पौडी, तेक्वान्दो, टेबलटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, सेपाकटाक्रो, उसु, स्पोर्टस क्लाम्बिङ, प्याराग्लाइडिङ, कुरास, पेनकक सिटेल र स्केटबोर्ड भाग लिने प्रस्ताव गरिएको छ।
एसियाली भाग लिने खेल संख्या टुंग्याउन खेलकुदमन्त्री जगत विश्वकर्मा रहेको ५ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई एसियाडमा सहभागी हुने खेलको टुंगो लगाउने अधिकार प्रदान गरिएको छ।
टी–२० विश्वकप छनोट (भदौ)
सन् २०२० को टी–२० विश्वकपको एसिया पूर्वी क्षेत्रीय छनोट भदौ १० देखि २४ गतेसम्म मलेसियामा गर्ने प्रस्ताव गरिएको छ। छनोटमा नेपाल, मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्यान्ड गरी ७ टिमले खेल्नेछन्। तर प्रतियोगिताको मिति भने प्रस्ताव मात्र गरिएको हो। यो प्रतियोगिताबाट नेपालको सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने अभियान सुरु हुनेछ।
एसिया कप छनोट (भदौ)
भदौमा एसिया कप क्रिकेट प्रतियोगिताको छनोट प्रतियोगिता हुँदैछ। भदौ २८ देखि एसिया कप हुने भएकाले त्यसअघि नै छनोट प्रतियोगिता हुनेछ। भारतमा हुने छनोट प्रतियोगिताको खेल तालिका अहिलेसम्म सार्वजनिक गरिएको भने छैन।
छनोट प्रतियोगितामा युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ।
छनोटको युएई विरुद्धको खेल नेपालका लागि पहिलो एकदिवसीय खेल हुनेछ। त्यसअघि कुनै टिमसँग सिरिज पक्का भएको खण्डमा नेपालले युएई अघि नै एकदिवसीय खेल खेल्न सक्नेछ। एसिया कप भदौ २८ देखि युएईमा हुनेछ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट चरण पार्ने १ टिम गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ।
आठौं राष्ट्रिय खेलकुद (भदौ)
राष्ट्रिय खेलकुद परिषद्ले मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दैछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०९औं बोर्ड बैठकले प्रतियोगिता मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो।
प्रतियोगिता नेपालगन्जमा हुँदैछ।
साफ च्याम्पियनसिप (मंसिर)
साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भदौ १९ देखि ३० सम्म बंगलादेशमा हुँदैछ। यसअघि गत डिसेम्बरमा बंगलादेशमै हुने भनिएको प्रतियोगिता १० महिना पर सारिएको हो। बंगलादेशले तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानले भाग लिनेछन्। प्रतियोगिताको 'ड्र' केही दिनमा ढाकामा हुनेछ।
साग गेम्स (फागुन-चैत)
नेपालले वर्षको अन्त्यमा तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्दैछ। प्रतियोगिता फागुन २५ देखि चैत ४ गते (मार्च ९–१९, २०१९) सम्म हुने तय भएको छ। प्रतियोगिता काठमाडौं र पोखरामा गर्न राष्ट्रिय खेलकुद परिषद्ले तयारी गरिरहेको छ। २० वर्षपछि साग गेम्स गर्ने मौका पाएपनि नेपालले सोचे अनुरुप तयारी गर्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।