ad

विद्यालय भवन निर्माणमा प्रवासी नेपालीको १ करोड ३३ लाख सहयोग

Nepal Live

बाबियाचौर– म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्वविद्यार्थीको पहलमा १ करोड ३३ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। 

विद्यालयको ५०औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडौंमा रहेका पूर्वविद्यार्थीले संकलन गरेको १ करोड ३३ लाख रुपैयाँ शनिबार उपलब्ध गराइएको हो। 

स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा बेगखोला कल्याणकारी समाजका अध्यक्ष योगकुमार फगामीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामार्फत व्यवस्थापन समितिका अध्यक्ष नरसिङ पुनलाई सो रकम उपलब्ध गराएका थिए।

२०२५ सालमा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधा सम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालित सहयोग संकलन अभियान जारी रहेको एनआरएनए बेलायतका अध्यक्षसमेत रहेका फगामीले बताए।

स्वर्ण जयन्तीको अवसरमा मन्त्री थापाले विद्यालय भवनको शिलान्यास गरिन्। कक्षाकोठा, कम्प्युटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षसहितको १५ कोठे भवन निर्माण गर्ने योजना रहेको छ। कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल १ सय ७० जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक धनबहादुर फगामी (विनोद)ले बताए।

यसअघि विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि प्रवासीले ३२ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए। 

यसैगरी बेगखोला घर भई हाल बेलायतमा बस्दै आएका पदमबहादुर पुर्जाले ९ थान ल्यापटप सहयोग गरेका छन्। उनले यसअघि ५ थान ल्यापटप उपलब्ध गराएका थिए। 

प्रवासमा रहेका बेगखोलावासीको अगुवाइमा ४ वर्षअघि १ करोड २५ लाखको लागतमा बेगखोला बेग र तिप्ल्याङ बादुक सडक निर्माण भएको थियो। स्वर्ण जयन्तीको उद्घाटनपछि मन्त्री थापाले गाउँको विकासका लागि प्रवासमा रहेका बेगखोलावासीले उदाहरणीय काम गरेको बताइन्।

स्वर्ण जयन्तीको अवसरमा चन्दादाता, पूर्वप्रध्यानाध्यापक र व्यवस्थापन समितिका पूर्वअध्यक्षलाई सम्मान गरिएको थियो। रासस

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत