ad

तराई/मधेशमा सिरुवा र जुडी शितलको उल्लास

Nepal Live

फाइल तस्बिर


विराटनगर– नयाँ वर्षसँगै तराई÷मधेशमा सिरुवा र जुडी शितलको उल्लास बढेको छ। सिरुवा पर्व नयाँ वर्षको पहिलो तीन दिन मनाइन्छ। पहिलो दिनलाई थारुहरुले जुडी शितल भन्ने गरेका छन्।

खास गरी पूर्वी तराईका आदिवासीहरुमा सिरुवा पर्व मनाउने चलन छ। झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा पर्व मनाउँछन्। 

वैशाख १ गतेको विधिलाई सतुवाइन भनिन्छ। घरका देवी देवतालाई सातु, गुँड (सख्खर) चढाएर आफू तथा आफ्ना साथीभाई÷इष्टमित्रलाई खान दिइन्छ। यसैगरी, पानी सिरुवा, काद सिरुवा र  रङ सिरुवा गरी विभिन्न विधि पूरा गरी सिरुवा पर्व मनाउने गरिन्छ। पर्व अनुसार आइतबार पानी सिरुवा मनाइनेछ। घरका जेठा व्यक्तिले आफ्ना गृहदेवता, ग्रामदेवता र अन्य देवतामा पवित्र जल चढाई अन्य कुटुम्वहरूलाई पनि जलले टाउकोमा थप्थपाई आशीर्वाद दिने र सानाले ठूलालाई खुट्टामा जल चढाई ढोग्ने चलन छ।

वर्षभरिका दुःख कष्टलाई धोई पखाली नयाँ वर्षको शुरुवातसँगै तन÷मन शतिल रहोस् भनी कामना समेत गर्ने गरिन्छ। यसलाई थारूहरूले आफ्नो भाषामा जुडी शितल भन्ने गर्छन्। मोरङका थारूहरूले हिलो र गोबर छ्यापेर पनि जुडी शितल मनाउँछन्।

देवतालाई जल चढाउँदा वर्षभरिको समय सुखद् रहोस् भन्ने कामना गरिन्छ। सिरुवा प्रकृतिसँग जोडिएको लोकपर्व भएकाले घर वरिपरि रहेका रुखका जराहरुमा पानी हाल्ने, सडक र घर आसपासमा पानी छर्कने, कुवा र पोखरीहरु सफा गर्ने लगायतका प्रचलन पनि छन्।

पर्वको अर्को दिन हिलो खेल्ने चलन छ, जसलाई काद सिरुवा भनिन्छ। वर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो सिरुवा खेल्ने गरिएको बताइन्छ। यसो गर्नाले शरीरलाई कुनै रोगव्याधी नलाग्ने विश्वास रहिआएको छ।

अन्तिम दिन रङ र अबिर दलेर रङ सिरुवा मनाइनेछ। रङ सिरुवामा एक अर्काबीच रङ छ्यापेर शुभकामना आदानप्रदान गरिन्छ। रिस तथा मनमुटावलाई बिर्सेर रङ खेली यो पर्व हर्ष उल्लासका साथ मनाउने गरिएको छ।

चैत मसान्तको बेलुका अघिल्लो वर्षमा फलेकामध्ये सातवटा तरकारी मिसाएर पकाएको सातसागी नयाँ बर्षको पहिलो दिन खाने चलन छ। साथै, अन्य मीठा–मीठा परिकारसमेत खाने/खुवाउने गरिन्छ। पर्वकै अवसरमा संस्कृति झल्कने खालका नाचगान पनि गर्ने गरिन्छ। सिरुवा पर्वमा ठाकुर बिसरी, ठाकुर ब्राह्मणी, बिसहरी र कालीको पूजा गरिन्छ। पूर्वी तराईमा बस्ने आदिवासीले सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्छन्।
 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत