डडेलधुरा– डडेलधुरामा प्रदेश ७ कै ठूलो र अत्याधुनिक शितगृह(कोल्ड स्टोर) औपचारिक रुपमा बिहीबारदेखि सञ्चालनमा आएको छ।
कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेलधुराको अमरगढी नगरपालिका–१, दहमा आधुनिक प्रविधि सहितको उग्रतारा सित भण्डार उद्योग निर्माण भएको छ।
१४ हजार ५ सय क्विन्टल क्षमताको कोल्डस्टोर नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान सहयोग र जिल्लाका उद्योगी व्यवसायीहरुको ३५ प्रतिशत लगानीमा स्थापना हो। करिब २ वर्ष अगाडिबाट निर्माण सुरु भएको हो।
सित भण्डार २ करोड ५७ लाख सञ्चालक र २ करोड ९९ लाख साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको गरी ५ करोड ५७ लाख रुपैयाँको लागतमा सम्पन्न भएको उग्रतारा सित भण्डारका अध्यक्ष भोजराज भट्टले बताए।
कोल्ड स्टोर निर्माण भइसकेपछि यसबाट करिब ९ सय घरधुरीहरु लाभान्वित हुने र ५० देखि ६० जना व्यक्तिहरुले प्रत्यक्ष रुपमा रोजगारी समेत पाउने विश्वास गरिएको छ। जिल्लामा आलुको बिउ प्रशस्त मात्रामा उत्पादन हुँदा पनि भण्डारण गर्न नसकिएको हुँदा अन्य जिल्लाबाट बिउहरु ल्याउनु पर्ने बाध्यता रहेका थियो। अब जिल्लामै सित भण्डार स्थापना भइसकेपछी किसानहरु हर्षीत भएका छन्।
कोल्ड स्टोर निर्माण भइ सञ्चालनमा आएपछि जिल्लामै उत्पादित आलुको बिउ भण्डारणका लागि सहज भएको र विभिन्न कृषि उपजहरुलाई समेत भण्डारण गरि प्रयोग गर्न सकिने कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ। कोल्ड स्टोरले प्रदेश ७ का पहाडी जिल्लामा उत्पादित खाद्यान्न, आलुको बिउ र फलफुलहरु सञ्चित गर्न निकै नै सहयोग पुग्ने विश्वास लिइएको छ।
यस्तै उत्पादित कृषि उपजलाई भण्डारण गरेर मुल्य वृद्धि भएपछि बिक्रि वितरण गर्दा किसानहरुले राम्रो आम्दानी गर्नसक्ने पनि विश्वास लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।