राजविराज– तराई-मधेसको विकास निर्माण तथा जीविकोपार्जनसँग प्रत्यक्ष सरोकार राख्ने बहुप्रतीक्षित हुलाकी राजमार्गको निर्माण कार्य सप्तरी खण्डमा पनि सुरु भएको छ। सप्तरीमा तीन खण्डमा विभाजन गरी सडकको निर्माण काम सुरु भएको छ।
कञ्चनपुर–राजविराज र राजविराज–वलान गरी ४६ किलोमिटर सडक निर्माण भइरहेको छ भने सदरमुकाम राजविराजलाई भारतीय सीमावर्ती क्षेत्र कुनौलीसँग जोड्ने राजविराज–कुनौली (१२ किलोमिटर) सडक पनि यसै योजना अन्तर्गत निर्माण भइरहेको छ।
मध्य प्वाइन्टबाट दुवैतर्फ १५/१५ मिटर गरी ३० मिटर (राइट अफ वे) चौडा सडक निर्माण हुने जनाइएको छ। तर, ७ मिटर पिच तथा सोल्जर गरी हाल १५/१६ मिटरभित्र निर्माण काम हुने सुनसरीको इटहरीस्थित हुलाकी राजमार्ग निर्माण आयोजनाले जनाएको छ।
भ्याटबाहेक कुल २ अर्ब ३१ करोड ३८ लाख ८६ हजार ३०९ रुपैयाँमा ठेक्का लागेको यो सडकको निर्माण कार्य अढाई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
कञ्चनपुर–राजविराज खण्डको सडक निर्माणको काम शर्मा-वज्रगुरु-लोहनी एन्ड ब्रदर्स जेभीले लिएको छ। ८४ करोड ७३ लाख ६ हजार २२८ बजेट रहेको यस खण्डको काम २०७७ असार २६ गते सम्पन्न गर्ने गरी २०७४ पुस २७ गते निर्माण कम्पनी र आयोजनाबीच सम्झौता भएको छ।
राजविराज–वलान खण्डको ठेक्का रौताहा-श्रेष्ठ-दिवा जेभीले लिएको छ। ३६ करोड ८४ लाख ५८ हजार ८३० रुपैयाँको लागतमा २०७७ असार ३० गते सम्पन्न गर्ने गरी २०७४ असार ३० गते निर्माण कम्पनीले सम्झौतामा हस्ताक्षर गरेको छ।
यसैगरी, राजविराज विमानस्थलको निर्माण कार्य भर्खरै सम्पन्न गरेको कान्छाराम कन्सट्रक्सन प्रालिले राजविराज–कुनौली सडकको ठेक्का लिएको छ। कुल ३६ करोड ८४ लाख ५८ हजार ८३० बजेटमा २०७७ असार ३० सम्ममा काम सम्पन्न गर्ने गरी २०७४ असार ३० गते कान्छारामसँग सम्झौता भएको हो। कान्छारामले निर्माण काम सम्पन्न गर्न २ वर्षको समय पाएको छ।
आयोजना अन्तर्गत जम्मा २३ वटा पुल निर्माण हुनेछन्। जसमध्ये खाँडो खोला, महुली खोला, नाला खोला, झर्ना खोला र सोरवन खोला गरी ५ वटा पुल निर्माण सम्पन्न भइसकेको र बाँकी १८ वटा पुलको काम द्रुत गतिमा अघि बढेको आयोजनाका इन्जिनियर शिवराम देवले बताए।
७ वटा निर्माण कम्पनीले ठेक्का लिएको पुल निर्माणको काम ६९ करोड ८७ लाख ९३ हजार ५४५ रुपैयाँमा सम्पन्न हुनेछ। आयोजना अन्तर्गतको ३० प्रतिशत काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ।
हुलाकी सडक आयोजनाका निर्देशक श्याम खरेलका अनुसार पूर्वपश्चिम ९ सय ७५ किलोमिटर लम्बाइको हुलाकी सडक स्तरोन्नतिका लागि कुल ४७ अर्ब २४ करोड बजेट छुट्याइएको छ। एक सय ५० वटा पुलमध्ये ६५ वटा पुल निर्माण भइसकेका छन् ।
तराई-मधेसको दक्षिण भूभागका बस्तीलाई पायक पर्ने गरी निर्माण हुन लागेको हुलाकी सडकले यस क्षेत्रमा कृषि, स्वास्थ्य तथा समग्र सामाजिक परिवेशका सकात्मक प्रभाव पार्ने बुद्धिजीवीहरु बताउँछन्। वर्षौंको प्रतीक्षापछि बन्न लागेको यो सडकले ग्रामीण क्षेत्रलाई ठूला सहरसँग जोड्ने र त्यहाँको अन्न उब्जनीले बजार पाउने उनीहरुको भनाइ छ।
यो सडकले झापाको भद्रपुरसँगै सप्तरीको राजविराज, सिरहा, जलेश्वर, गौर, मलंगवा, वीरगन्ज लगायतका तराइका प्रमुख बजारहरुलाई जोड्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।