तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लागेको यस क्षणमा भव्य बिदाइ कार्यक्रम आयोजना गरी म र मसँगै बिदाइ हुन लाग्नु भएका मेरा सहकर्मी साथीहरूलाई हार्दिकतासहितको सम्मान दिनुभएकोमा नवनियुक्त प्रहरी महानिरीक्षक श्री सर्वेन्द्र खनालज्यू र सिंगो नेपाल प्रहरी परिवारप्रति आभार प्रकट गर्न चाहन्छु।
आजभन्दा ३० वर्ष अगाडि केटौलो उर्जासहित देश र जनताको सेवामा होमिने उत्कट अभिलाषाका साथ संगठन प्रवेश गरेका हामी बिदाइको यस घडीमा यस पूर्व नागरिक जीवनमा प्रवेश गर्नु भएका र नेपाल प्रहरीलाई आजको अवस्थामा ल्याई पुर्यागउन विशेष योगदान दिनुहुने समस्त समादरणीय अग्रजहरूको स्मरण गर्न चाहन्छु।
आधारभूत तालिममा सहभागी भएको क्षणदेखि नेपाल प्रहरीको उच्चपद सम्मको मेरो अबिराम यात्राका विभिन्न व्यावसायिक मोडहरूमा मलाई मार्ग निर्देश गर्ने ती समस्त सम्झनायोग्य प्रहरी जनहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु। मैले गरेका सबै सत्कर्महरूमा वहाँहरूको अंशियारी रहेको व्यहोरा पनि निवेदन गर्न चाहन्छु। प्रशस्तिका शव्दद्वारा गरिने सम्बोधनले मात्रै अपूर्ण हुने वहाँहरूको योगदान तथा सत्प्रयासहरू अनन्त कालसम्म मेरो मानसपटलमा अमिट रहिरहने छ।
साथै, विभिन्न कालखण्डमा देश र जनताको सेवामा आफ्नो जीवन न्यौछावर गर्नुहुने सम्पूर्ण कर्मशील अमर तथा वीर प्रहरीहरूको शहादतको उच्च प्रशंसा गर्दै सतहमा देखिने प्रहरी संगठनको आधारहरू निर्माणमा वहाँहरूको रगत र पसिनाको सिञ्चनको महत्व विशिष्ट रहेको स्मरण गर्न चाहन्छु।
म प्रहरी सेवामा बहालमा रहँदा जे जति गर्न सकेँ, त्यसमा धेरैको साथ र सहयोग रह्यो, यसका लागि नेपाल सरकार र सम्बद्ध अधिकारीहरू, मेरा शुभेच्छुकहरू तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। साथै, प्रहरी जीवनको व्यस्ततालाई बुझेर सम्पूर्ण पारिवारिक जिम्मेवारी आफूले वहन गरी मलाई नागरिकको सेवामा समर्पित रहन हरदम प्रेरित गरिरहने मेरी जीवनसंगिनी र परिवारजनलाई समेत धन्यवाद नदिई रहन सक्दिन।
२०४४ साल चैत्र २९ गते प्रहरी सेवामा प्रवेश गरी आज निवृत्त हुँदै गरेका म लगायत मेरा सहकर्मीहरूबाट नेपाल प्रहरी संगठनको हितका सवालमा जीवनपर्यन्त साथ–सहयोग रहिरहनेछ भने संगठनको पूर्व प्रमुखका हैसियतले मैले निभाउनु पर्ने हरेक जिम्मेवारीमा किञ्चित पनि कमी हुने छैन। अवकाशको संघारमा रहनुभएका मेरा सहकर्मीहरू पनि यसमा प्रतिबद्ध हुनुहुन्छ भन्ने मैले विश्वाअस लिएको छु।
सकृय पेशागत जीवनबाट निवृत हुदै गर्दा मैले आफ्नो व्यावसायिक जीवन कस्तो रह्यो भन्ने सोच्ने गर्छु। वस्तुतः म व्यावसायिक प्रहरीकर्मी हुँ। प्रहरीको हैसियतले मैले प्राप्त गरेको जिम्मेवारी र मेरो भूमिकालाई सदा न्याय गर्ने मेरो प्रयास रह्यो। मातहतप्रति कतिपय प्रसङ्गमा म कठोर भए हुँला तालुकप्रति म असभ्य सुनिए पनि हुँला ! त्यो विषयप्रतिको मेरो प्रतिकृया थियो, व्यक्तिप्रति थिएन, यो व्यक्तिगत लाभको लागि पनि थिएन, बरु सांगठनिक हितको लागि थियो भनी स्पष्ट पार्न चाहन्छु।
आफ्नो व्यावसायिक जीवनको कुनै क्षणमा पनि मैले महत्वाकांक्षी सपनाहरू पालिन। सेवा प्रवेशको सुरुवाती दिनदेखि नै संगठनको उद्देश्य प्राप्तिका लागि इमानदारिता, अनुशासित जीवन र समर्पणभावलाई केन्द्रमा राखी सेवामा समर्पित भएँ। मैले हरेक दर्जाको हरेक पोष्टिङमा रहेर कार्य गर्दा निहित लाभका लागि व्यक्तिगत नाफा–घाटाको हिसाब नगरी आफ्नो योग्यता, क्षमता तथा ज्ञान–कौशलको उच्चतम् प्रयोग गरेर उत्कृष्ट सेवा प्रवाह गर्न र संगठनको दीर्घकालीन हितका लागि प्रयासरत रहेँ।
अल्पविकसित मुलुकका नागरिक हामी भौतिक अभावका बीच बाँचेका त छौं नै, साथै हामीकहाँ आफ्नो स्वार्थलाई मात्र प्राथमिकतामा राख्ने अभावग्रस्त मानसिकता भएकाहरूको जमात ठूलो भएकोले गर्नेले जतिसुकै राम्रो गरेपनि चित्त सबैको बुझाउन नसकिने यथार्थ हामी सबैलाई थाहा छ।
यसरी हेर्दा प्रहरी महानिरीक्षक सजिलो पद होइन। छनौटको दिनदेखि नै तपाईका दुर्दिन शुरु हुन थाल्छ। मातहतलाई तपाई नियन्त्रण गर्न सक्नुहुन्छ, परन्तु हाम्रो जस्तो मुलुकमा मजकुर कार्यालयहरूको नीजि स्वार्थ काबु बाहिरको परिस्थिति बन्दो रहेछ। असल नियतका कामलाई प्रवर्द्धन गर्ने भूमिकामा रहेका कार्यालयहरू झिना मसिना नीजि स्वार्थलाई अभिष्ट ठानी बाधकको भूमिकामा देखा पर्दा रहेछन्। नव नियुक्त प्रहरी महानिरीक्षकको लागि पनि यो चुनौतीको विषय हुनेछ।
छोटो पदावधिका कारण धेरै कुरा गरेँ भनेर म भन्दिन, तर मैले संगठनमा हरेक कुरामा प्रणालीको विकास गरी सांगठानिक क्रियाकलापहरू स्थापित प्रणालीबमोजिम सञ्चालन गर्ने, सामूहिक निर्णय गर्ने अभ्यासलाई संस्थागत गर्ने, संगठनका कार्यहरूलाई पारदर्शी बनाउने, सही मूल्याङ्कन पद्धतिको विकास गर्ने तथा कर्मचारीहरूको वृत्ति विकास गर्ने कुरामा जोड दिई हरेक सदस्यहरूमा संगठनप्रति अपनत्व र एकआपसमा भाइचाराको भावना बढाउने कुरालाई प्राथमिकतामा राखेर काम गरे।
जननिर्वाचित संविधानसभाद्वारा निर्मित संविधानको कार्यान्वयन गर्दै संघीयतालाई संस्थागत गर्नुपर्ने पूर्व घडीमा संगठनको नेतृत्व सम्हाल्न आइपुगेको थिएँ। निर्वाचन सुरक्षामा अग्रणी भूमिकामा रहेको नेपाल प्रहरीले छोटो अवधिभित्रै संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गुरुत्तर दायित्व प्राप्त गरेको थियो। मेरो नेतृत्वकालमा सकल दर्जाका प्रहरीले निर्वाह गरेको व्यावसायिक भूमिकाले हामी सो राष्ट्रिय अभियानमा सफल हुन सक्यौं यसका लागि यहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ।
अन्तराष्ट्रिय जगतको समेत विशेष चासो रहेको संघीय गणतान्त्रिक नेपालको पहिलो निर्वाचन शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नु नै प्रमुख उपलव्धि हो। विभिन्न निर्वाचन विरोधी समूहहरूको अवरोधका बाबजुद पनि कर्मठ प्रहरी कर्मचारीहरू अन्य सुरक्षा निकाय र निजामती कर्मचारीहरूको समेत सहयोगबाट यो अध्याय सम्पन्न गर्ने सुअवसर पाएकोमा म हर्षित छु।
कुनै घटनामा आफ्नो मान्छे पीडित भए थुनाउन र आफ्नो मान्छे पीडक भए छुटाउन जुलुसै लिएर आउने हाम्रा नागरिक सबैलाई हामीले चित्तबुझ्दो सेवा दिन नसकिएला तर हरेक किसिमका समस्या तथा आपत् आइपर्दा हाम्रो सहारा प्रहरी नै हो भनेर हामीलाई पुकार्ने निमुखा जनता तथा प्रहरीप्रतिको अटल विश्वारसले ओतप्रोत भई अमूल्य सहयोग गर्ने नेपाली जनताको मनमा रहेको नेपाल प्रहरीप्रति भरोसा र विश्वासलाई दरिलो बनाउनु हरेक नेतृत्वको तथा हरेक प्रहरी कर्मचारीको दायित्व हो भन्ने यथार्थ सदा स्मरण रहोस्।
विगतको तुलनामा सांगठानिक मूल्य–मान्यता तथा ऐक्यबद्धतालाई अक्षुण्ण राख्ने अनुशासनमा क्षयीकरण हुँदै गएको छ। स्थापित विधि तथा नीतिको उल्लङ्घन गर्नुलाई स्मार्टनेस र बोल्डनेसको स्वघोषित पगरी गुथेर आत्मरतिमा रमाउनेहरू बढ्दै गएका छन्, भाइचारा र अपनत्वभाव हराउँदै गएको छ, नयाँ नेतृत्वलाई सांगठनिक ऐक्यबद्धता कायम गर्नु तथा प्रोफेसनल र पपुलिस्ट प्रहरी अधिकृत खुट्टयाउन कठिन हुने मैले देखेको छ।
संवैधानिक व्यवस्थाअनुसार हामी संघीय संरचनामा गैसकेका छौं र निकट भविष्यमा हरेक प्रदेशमा केही हदसम्मको स्वायत्तता सहितको प्रदेश प्रहरी रहने कुरा अवश्यकम्भावी छ। यस सन्दर्भमा संगठनलाई भौतिक रुपले सम्पन्न तथा भावनात्मक हिसाबले अझै एक ढिक्का बनाइ राख्ने कार्य थप चुनौतीको विषय हुनसक्छ, यसप्रति पनि नवनियुक्त प्रहरी महानिरीक्षकज्यू र हरेक सदस्यको विशेष भूमिका हुने देख्छु।
७२ हजारभन्दा बढी जनशक्ति रहेको संगठन चलायमान भैरहनु पर्नेमा नियमित प्रशासनिक क्रियाकलापहरू तथा प्रकृयाहरू समेत अबरुद्ध पारिँदा संगठनमा, संगठनका सदस्यहरूमा र अन्ततस् सेवाग्राहीहरूमा कति ठूलो असर पर्छ भन्ने कुरा सम्बन्धितहरूले बुझ्नु पर्ने हो। यसले “चलखेल” को सम्भावना बढाउँछ र कसैप्रति अनुग्रहित भैरहनु पर्ने बाध्यता बढ्छ। यो सांगठनिक दुर्भाग्य नै हो।
संगठनलाई हाक्ने अबको नेतृत्व ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शिताका धनी व्यक्तित्व हुनहुन्छ। मैले उहाँलाई संगठनमा जहिले पनि पारदर्शी र उच्च नैतिक अनुशासनमा रही काम गरेको पाएको छु। उहाँको योग्यता, क्षमता तथा इमानदारिताको मूल्याङ्कन गर्दै उहाले संगठनको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको छ।
उहाँले आफ्नो कार्यकालमा संगठनलाई थप नयाँ उचाई दिनहुनेछ भन्ने मेरो विश्वास रहेको छ। संगठनमा देखिएका यावत बाह्य तथा आन्तरिक चुनौतीहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि आफ्नो नवनियुक्त प्रहरी महानिरीक्षकज्यूलाई रचनात्मक सहयोग गर्न हरेक प्रहरी कर्मचारीहरूलाई अनुरोध गर्दछु।
अन्त्यमा, आमाले जसरी खान खुवाउने कार्यालय सहयोगीहरू, नेतृत्व र संगठनप्रतिको अटल विश्वा्सकासाथ बिना गुनासो परिचालित हुने जवान तथा हवल्दार तथा समस्त जुनियर र सिनियर प्रहरी अधिकृतहरूलाई स्मरण गर्दै संगठनको र यहाँहरू सबैको व्यक्तिगत तथा व्यावसायिक जीवनको सफलताको कामना गर्न चाहन्छु।
साथै, प्रहरी सेवाको व्यावसायिक जीवनबाट औपचारिकरुपमा निवृत्त हुँदै गरेका म लगायत मेरा सहकर्मीहरूप्रति सम्मान तथा स्नेहभावका साथ यहाँहरूले आयोजना गर्नुभएको बिदाइ कार्यक्रममा लागि पुनः धन्यवाद दिँदै बिदा हुनु चाहन्छु।
(निवर्तमान आइजिपी अर्यालले प्रहरी प्रधान कार्यालयमा आफ्नो बिदाइमा दिएको अभिव्यक्ति)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।