अचेल हिरो–हिरोइनले फिल्ममा कम, त्यसको प्रमोसनमा बढी अभिनय गर्नुपर्ने हुन्छ।
फिल्म ‘लिलिबिली’का हिरो–हिरोइन प्रदीप खड्का र जसिता गुरुङको अवस्था पनि त्यस्तै छ।
फिल्मको प्रमोसनको समय छ। त्यसैले जस्तो गर भन्यो त्यस्तै मान्नैपर्याे। उनीहरु खुरुखुरु मानिरहेका छन्। आफू मनोरञ्जन प्रदानकर्ता भएकाले यसरी फिल्म बाहिर अभिनय गर्नुपर्दा खासै गुनासो नरहेको प्रदीप बताउँछन्।
अहिले रंगपत्रकारिताको बहुहिस्सा युट्युवमा आधारित सञ्चारकर्म गर्नेले ओगटेका छन्। युट्युव आधारित सञ्चारकर्म गर्नेहरुको लोभ ‘भ्युज’तिर हुने नै भयो।
प्रमोशनका लागि फिल्म बाहिर उनीहरुले गर्नुपरेका अभिनयबारे जिज्ञासा राखियो यो जोडीलाई।
‘तपाईं (प्रदिप) प्रेम प्रस्ताव राखे जस्तो गरिदिनुहोस्, उहाँ (जसिता)ले स्वीकार गरिदिनुहोस् पनि भन्नुहुन्छ,’ यही फिल्ममार्फत् हिरोइनका रुपमा डेब्यु गरेकी जसिता गुरुङले अनुभव सुनाइन्।
सायद पछि युट्युबमा ‘प्रदीपले जसितालाई प्रेम प्रस्ताव राखेपछि’ टाइपको थम्बलसहित प्रकाशित भयो होला। उनीहरु पनि यसमा रमाइरहेकै छन्। किनभने कहीँ न कहीँ फिल्मको नाम जोडिइहाल्छ। ब्रान्डिङ भइहाल्छ।
एउटाको ह्याट्रिक, अर्कोको डेब्यु
यतिबेला यो जोडी किन कस्सिएर प्रचारको मैदानमा उत्रिएको छ? किनकि फिल्म ‘लिलिबिली’को सफलता दुवैका लागि उत्तिकै महत्वपूर्ण छ। प्रदीपलाई सफलतामा ह्याट्रिक हान्नु छ। यसअघि ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ले उनलाई व्यावसायिक रुपमा सफल हिरोको दर्जा दिलाएका छन्।
पोखरामा जन्मेर बेलायतमा हुर्केकी जसिताको भने यो डेब्यु फिल्म हो। यसले नेपाली फिल्म क्षेत्रमा उनको आगामी बाटो तय गर्नेछ।
‘एक वर्षदेखि भित्तामा झुन्डिएको पात्रो स–सम्मान फेरिने हो कि हुत्याउनु पर्ने हो भन्ने पनि यसैबाट थाहा हुनेछ,’ प्रदीप भन्छन्, ‘किनकि चैत ३० अर्थात् वर्षको अन्तिम दिन फिल्म रिलिज हुँदैछ।’
लजाउने प्रदीप, रुने जसिता
नेपाली फिल्ममा एउटा तीतोसत्य सदा दोहोरिरहेको हुन्छ–‘स्क्रिप्ट’ सुन्दा कलाकारमा जागेको उत्साह फिल्म बनिसक्दा मरिसकेको हुन्छ। किनभने फिल्म ‘स्क्रिप्ट’ अनुसार नै उतार्न आर्थिक–प्राविधिक कठिनाई आउँछन्। यो फिल्म पनि सम्पूर्ण रुपमा त्यसबाट अछुतो रहने कुरा भएन।
केही दिनअघि फिल्मको जापानको टोकियोमा प्रिमियर भएको थियो। टोकियोमा प्रिमियरपछि जापानका अन्य ८ शहरमा फिल्म प्रदर्शनका लागि माग गरियो। यसले भने फिल्म सफल हुनेमा हिरोइन जसिताको आत्मविश्वासको पारो चढेको छ। भन्छिन्, ‘फिल्म राम्रो नभएको भए त्यही एक शो मात्रै चल्थ्यो।’
प्रिमियरमा हिरो र हिरोइन दुवै जापान पुगेका थिए। दर्शकसँगै फिल्म हेर्दा प्रदीप लजाइरहे र जसिता रोइरहिन्।
‘फिल्म हेर्दै जाँदा त्यो पात्र मै हुँ भन्ने बिर्सेछु। आँशु थाम्न सकिनँ।,’ जसिताले भनिन्।
प्रदीपले बिचमा रोक्दै भने, ‘फिल्ममा ‘स्याड सिन’ आउँदा प्राय रुन्छिन् यिनी।’
अरुको दुःख देख्न नसक्ने जसितालाई प्रदीपले ‘सधैं संगत गर्न लायक’ मान्छे ठान्दा रहेछन्।
प्रदीप किन लजाए त ?
‘उहाँलाई आफ्नो अभिनय हेर्दा सधैं लाज लाग्छ रे,’ जसिताले भनिदिइन्।
रुप र कुराको केमेष्ट्री
उनीहरुको रुपको मात्रै होइन, कुराको समेत ‘केमेष्ट्री’ मिल्न थालिसकेछ।
अघिल्ला फिल्म र म्युजिक भिडियोमा प्रदीपको अभिनय देखिसकेकी थिइन् जसिताले। भन्छिन्, ‘म उहाँको फ्यान नै हुँ। असल व्यवहारको हुनुहुँदोरहेछ, यसले झन् फ्यान बनायो।’
नयाँलाई ‘पेल्ने’ फिल्म क्षेत्रको स्वभावबाट आजित प्रदीपले जसितासँग सहयोगी व्यवहार देखाए। ‘प्रेमगीत’मा अभिनय गर्दा म यति धेरै पेलिएँ कि त्यसपछि फिल्म गर्दिनँ होला जस्तो लाग्थ्यो,’ प्रदीपले भने, ‘म आफूले भोगेको कुरा अरुलाई भोग्न परोस् भन्ने चाहन्नँ।’
एउटा दोस्रो इनिङ, अर्कोको पहिलो प्रयास
अहिले निरन्तर सफलताको सिढी चढिरहेको देखिएपनि प्रदीपको यो दोस्रो इनिङ हो। ‘जीवनको करीब ५ वर्षको समय मैले असफलताको हद भोगेको छु,’ उनी भन्छन्।
उनले विदेश पढ्न भिसा ‘अप्लाई’ गरे। तर सफलता हात पार्न सकेनन्। दुई वटा फिल्म बनाए र त्यहीमध्येको एउटामा अभिनय गरे। हात लाग्यो शून्य। त्यसपछि यो ठाउँमा आइपुगेका उनी ‘नाफाको जीवन’मा छन्।
जसिताको जीवनका विविध अनुभवको खातामा यो फिल्म थपिएको छ। बेलायत बसे पनि जसिता नेपाली गीतसंगीतमा नृत्य भनेपछि हुरुक्कै हुन्थिन्। उमेर बढ्दै जाँदा उनको सुन्दरतामा निखार आउन थाल्यो। नृत्यमा रुची राख्ने भदैनी राम्री देखेपछि उनकी फुपुले ‘नेपाली फिल्मको स्तर राम्रो हुँदैछ। तँ पनि प्रयास गर’ भनिरहन्थिन्। सोहि आग्रहमा उनले फिल्म ‘लिलिबिली’मा प्रयास गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।