वासिंगटन– चीन र अमेरिकाबीच बढ्दै गएको कुटनैतिक तनाव दुई देशबीचको व्यापारमा देखिन थालेको धेरै भएको छैन।
अमेरिकाले चिनियाँ सामाग्री आपुर्तीमा करको दायरा बढाएको केही दिनमै चीनले पनि जवाफस्वरुप अमेरिकी सामाग्रीमा कर बढाएको थियो तर यो क्रम सन् २०१७ मा चलेको एक अध्ययनले देखाएको छ।
नेशनल कमिटि अन युएस चाइना रिलेसन र रोडियम ग्रुपले गरेको एक संयुक्त अध्ययनले दुई देशबीच भएको लागानी सम्झौताको मूल्य अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा ३५ प्रतिशतले घटेको देखाएको छ।
अध्ययन प्रतिवेदनमा दुवै देशले अपनाएको नयाँ व्यापार नीतिका कारण लगानीमा भिन्नता देखिएको उल्लेख छ।
अघिल्ला वर्षको तुलनामा चीनले विदेशमा हुने लगानीमा कडाइ गर्न थालेको छ भने अमेरिकाले पनि आफ्नो राष्ट्रिय सुरक्षा चुनौतीका कारण भन्दै यसरी गरिने सम्झौताप्रति चासो बढाउन थालेको छ।
‘सन् २०१७ को तथ्याङ्क हेर्ने हो भने पनि चीनले अमेरिकामा २९ अर्ब अमेरिकी डलर लगानी गरेको छ जुन सन् २०१६ को ४६ अर्ब अमेरिकी डलरभन्दा ३५ प्रतिशतले कम हो,’ रिपोर्टमा उल्लेख छ।
चिनियाँ लगानी
अमेरिकामा चिनियाँ लगानी घटेपनि पछिल्ला दशकमा अन्य राष्ट्रमा चीनको लगानी बढेको छ जसका कारण चीन स्वयम्का साथै अमेरिका, अष्ट्रेलिया र जर्मनीमा तनाव बढ्दै गएको छ।
यता अमेरिकामा भने राजनीतिक नेताहरुले चीन सरकारको प्रत्यक्ष लगानी रहेका कम्पनीले सैन्य र सुरक्षासँग सम्बन्धित रहेका उपकरण उत्पादनमा केन्द्रित रहेको भन्दै आवाज उठाइरहेका छन्।
‘गत वर्षमात्रै अमेरिकाको विदेश लगानी कमिटीले करिब १० अर्ब अमेरिकी डलर बराबरको सम्झौता रोकेको थियो जसमा अमेरिकाको सेमिकन्डक्टर र आल्मुनियम कम्पनीको बिक्री पर्छ।’, रिपोर्टको अनुमान छ।
यो वर्ष मात्रै पनि केही चिनियाँ लगानी रोकिएका छन् जसअन्तर्गत अमेरिकी मनी ट्रान्सफर, मनीग्रामको बिक्री अलिबाबाको डिजिटल पेमेन्ट आर्म एन्ट फाइनेन्सियललाई गर्ने भनिएको थियो तर उक्त प्रक्रिया रद्द गरिएको थियो।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम्ले पनि आफ्ना कर्मचारीहरुलाई अमेरिकालाई चिनियाँ लगानी सिमित गर्ने नयाँ उपाय सोच्नको लागि निर्देशन दिएका छन्। साथै अमेरिकी संसदले पनि यस विषयमा छलफल सुरु गरेको छ जुन पारित भएमा संघीय सरकारले पनि आर्थिक सम्झौताका विषयमा निर्णय एवं कदम चाल्न पाउनेछ।
अहिले करिब १ लाख ४० हजार अमेरिकी चिनियाँ लगानीको कम्पनीमा कार्यरत रहेका छन् जसका अधिकांश लगानी घर जग्गा, सेवा र मनोरञ्जनको क्षेत्रमा क्रियाशिल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।