इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी अफगानीस्तान भ्रमणमा छन्। भ्रमणका क्रममा अब्बासीले अफगानी राष्ट्रपति असरफ घानीलाई भेट्ने कार्यक्रम छ, जसको मुख्य उद्देश्य हो, दुई देशबीचको तनाव घटाउनु।
घानीका अलावा अब्बासीले अब्दुल्ला अब्दुल्ला र अन्य सरकारी अधिकारीलाई शुक्रबार अफगानी राजधानी काबुलमा भेट्ने तालिका सार्वजनिक गरिएको छ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुहम्मद फैसलले जारी गरेको विज्ञप्तिमा दुई देशका प्रमुखबीचको भेटवार्ता दुईपक्षीय हित, आर्थिक, सुरक्षा र प्रतिआतंकवादमा केन्द्रित हुने उल्लेख छ। साथै, अफगानी शरणार्थी फिर्ता गर्ने, लागूऔषध उत्पादन कटौती, अफगानी शान्ति प्रक्रिया र लागूऔषध ओसारपसारमा पनि केन्द्रित हुने उल्लेख छ।
अब्बासीको अहिलेको भ्रमणको ध्येय भनेको अफगानीस्तानसँग विश्वासको वातावरण बढाउनु हो। अफगानीस्तानले समय–समयमा पाकिस्तानले आफगानी तालिवान र हक्कानी विद्रोही समूहलाई सघाइरहेको आरोप लगाउँदै आएको छ।
यता, पाकिस्तानले पनि अफगानीस्तानले पाकिस्तानी तालिवान विरुद्ध कदम नचालेको आरोप लगाउँदै आफ्नो बचाउ गर्ने गरेको छ।
गत महिना मात्रै पनि अफगानी राष्ट्रपति घानीले आफूहरु अफगानी तालिवानसँग खुला वार्ता गर्न तयार रहेको र कुनै शर्त नहुने बताएका थिए।
यसअघि, पाकिस्तान, अमेरिका र चीनको मध्यस्थतामा अफगानी तालिवान र सरकारबीच शान्तिवार्ता चलेको थियो तर यो वार्ता सन् २०१६ मा भंग भएको थियो। अमेरिकाले गरेको ड्रोन आक्रमणमा तत्कालीन तालिवान प्रमुख मुल्लाह अख्तर मनसुर पाकिस्तानमा मारिएपछि वार्तामा पूर्णविराम लागेको थियो।
पाकिस्तानले अहिले अफगानी तालिवानमाथि आफ्नो कुनै नियन्त्रण वा मध्यस्थता नरहेको दाबी गर्दै आएको छ, तर पहिले भने आफ्नो सम्बन्ध रहेको स्वीकार गर्दै आएको थियो।
‘पहिले तालिवानसँग हाम्रो केही सम्बन्ध र प्रभाव थियो तर त्यस प्रकारका कुनै पनि सम्बन्ध वा प्रभाव अहिले छैन,’ पाकिस्तानी विदेश सचिव तेहमिना जानजुवाले गत महिना अमेरिकी राजधानी वासिङ्टनमा पत्रकार सम्मेलनमा भनेकी थिइन्।
विदेशमन्त्री जानजुवा यही साताको सुरुवातै अब्बासीको भ्रमणको तयारीका लागि काबुल पुगेकी थिइन्, जहाँ उनले अफगानिस्तानका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरेकी थिइन्।
उक्त भ्रमणककै बेला दुवै पक्षले ‘अफगानिस्तान–पाकिस्तान एक्सन प्लान फर पिस एन्ड सोलिडारिटी मेकानिजम’ बनाएका थिए।
‘शान्ति स्थापना र सुमधुर सम्बन्धका लागि केही सफलता र विकास भए पनि वस्तुगत विषय उपर छलफल हुन बाँकी छ र आगामी दिनमा यस विषयमा छलफल हुनेछ,’ विज्ञप्तिमा भनिएको।
ब्रेकथ्रुको झिनो सम्भावना
एकअर्काको कट्टर विरोधीका रुपमा रहेका दुई देशका प्रमुखबीचको वार्ताबाट ‘ब्रेक थ्रु’को आशा गर्न नहुने विज्ञहरुको सुझाव छ।
‘शुक्रबारको भेटबाट ब्रेक थ्रु आउला भन्ने आशा मैले गरेको छैन। विज्ञप्तिहरु अवश्य पनि जारी हुनेछन्, साथमा केही साना प्रयासहरु पनि,’ अफगानिस्तानका सुरक्षा विश्लेषक अस्कारी रिज्वीले भने, ‘यसले तत्काल प्रभाव पार्नेवाला छैन।’
‘सम्बन्ध सुधारका लागि दुवै देशका नेतृत्वले आफ्नो पदलाई दाउमा राख्नुपर्छ। दुवै देशले शान्ति र आतंकवाद विरुद्ध लड्ने प्रतिबद्धता जनाउँछन् तर दुवै पक्ष आफ्नो प्रतिबद्धता पूरा गर्न उदृत छन् भन्ने आधार देखिएको छैन,’ रिज्वीले भने।
अफगानिस्तानको शान्ति प्रक्रिया र प्रतिआतंकवाद विरुद्ध कदम चाल्नका लागि पाकिस्तानलाई अमेरिका लगायत यसका सहयोगी राष्ट्रले दबाब दिँदै आएका छन्।
अमेरिकी राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प आएपछि झन् दबाब बढ्दै गएको समयमा अमेरिकाले यही जनवरीमा मात्रै पनि पाकिस्तानले अफगानी तालिवान र हक्कानी नेटवर्क विरुद्ध केही गर्न नसकेको भन्दै पाकिस्तानलाई दिँदै आएको करिब १ दशमलव १ अर्ब अमेरिकी डलर सैन्य सहयोग कटौती गर्ने घोषणा गरेको थियो।
सहयोग कटौतीसँगै बिग्रिएको अमेरिका–पाकिस्तान सम्बन्ध केही समययता सुध्रिएको विज्ञहरुको दाबी छ।
पाकिस्तान र अमेरिकाको सम्बन्ध अहिले सम्हालिएको छ। सहयोग कटौतीपछि बिग्रिएको सम्बन्ध अब थप विग्रने सम्भावना कम भएको छ, रिज्वीले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।