१. स्वतन्त्रता
उसले मलाई भन्यो- 'कुनै दासलाई सुतिरहेको देख्यौ भने नउठाउनू। हुन सक्छ, ऊ स्वतन्त्रताको सपना देखिरहेको होस्।'
'यदि कुनै दास सुतिरहेको देख्यौ भने उठाऊ र स्वतन्त्रताबारे उसलाई बताऊ', मैले भनेँ।
२. सोचको सीमा
एउटा माछाले दोस्रोसँग भन्यो, 'हाम्रो समुद्रबाहेक अर्को समुद्र पनि छ। त्यहाँ धेरै जीव बस्छन्। उनीहरु हामी यहाँ बसे जस्तै बस्ने गर्छन्।'
दोस्रो माछाले भन्यो, 'एकदम झुट ! तिमीलाई राम्ररी थाहा छ, यो समुद्रबाट हामीमध्ये कोही पनि एक इञ्च बाहिर निस्कियो भने ज्यान जान्छ। त्यसो हो भने अर्को समुद्र छ र त्यहाँ जीवहरु छन् भनेर तिमीसँग के प्रमाण छ?'
३. पारखी
एक किसानले आफ्नो खेत खन्ने क्रममा निकै सुन्दर मूर्ति गाडिएको भेट्यो। त्यसलाई बेच्न उसले पुरानो वस्तुहरुको संग्रहकर्ताकहाँ लग्यो। संग्रहकर्ताले राम्रो मूल्य दिएर त्यो मूर्ति किन्यो।
पैसा लिएर किसान घरतिर लाग्यो। बाटोमा ऊ सोच्दै गयो, 'यति पैसाबाट जतिसुकै लामो जिन्दगी पनि आरामले कट्नेछ। तर, यो कुरा बुझ्न गाह्रो भयो, कुनै मानिस हजारौं वर्षसम्म जमिनमा गाडिएको एउटा मूर्तिका लागि यति धेरै पैसा कसरी दिन सक्छ?'
उता, संग्रहकर्ता त्यही मूर्तिलाई नियालिरहेको थियो। ऊ सोचिरहेको थियो- 'अद्भूत सुन्दरता! निकै सजीव! सपना जस्तै दिव्य! हजारौं वर्ष सुतेको शान्त मुखाकृति। यति सुन्दर चिजलाई केही पैसाका लागि कोही कसरी बेच्न सक्छ? केवल मुर्दा र स्वप्नहीन मानिसले मात्र यस्तो गर्न सक्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।