काठमाडौं– नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की माल्दिभ्सको क्लबसँग आबद्ध भएका छन्। उनी माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्ने क्लब जेजे स्पोर्टसमा आबद्ध भएका हुन्।
आगामी सातादेखि सुरु हुने लिगका लागि अर्पण माल्दिभ्सको राजधानी माले पुगिसकेका छन्। अहिले प्रशिक्षण सहभागी अर्पणका अनुसार लिग आगामी ९ अप्रिलबाट सुरु हुनेछ।
अर्पणले माल्दिभ्समा गएर लिग खेल्न पाउँदा आफ्नो खेल करिअरले उचाइ लिने विश्वास गरेका छन्। 'अनुभव र केही नयाँ सिक्नका लागि यहाँ आएको हुँ,' अर्पणले माल्दिभ्सबाट नेपाल लाइभसँग भने, 'जेजे स्पोर्टसले मलाई ठूलो मौका दिएको छ। यहाँ आउँदा आफूलाई भाग्यमानी ठानेको छु।'
दोस्रो डिभिजनको लिग सिजन २ महिनासम्म चल्नेछ। लिगमा अर्पण आबद्ध जेजे स्पोर्टससँगै ९ वटा क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन्। उनी सिजनभरिका लागि आबद्ध भएका हुन्। सम्झौता रकम भने खुलाइएको छैन।
अर्पण आबद्ध टिममा माल्दिल्सका अनुभवी खेलाडीसमेत खेल्नेछन्। जसमा मोहम्मद मुफ्ती, इस्माइल एजाज र इब्राहिम सियाम छन्। गत सिजन सेमिफाइनलमा पुगेको जेज स्पोर्टसले प्रशिक्षकको रुपमा माल्दिभ्स राष्ट्रिय टिमका पूर्वसहायक प्रशिक्षक अलि नसिद छन्।
अघिल्लो सिजन नेपाली राष्ट्रिय टिमका नम्बर एक गोलकिपर किरण चेम्जोङले पनि माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबाट खेलेका थिए।
जेजे स्पोर्टसमा आबद्ध हुनुअघि अर्पण त्रिभुवन आर्मी क्लबसँग आबद्ध थिए। उनले मदन भण्डारी गोल्डकप आर्मीबाट खेलेका थिए। त्यसअघि उनी हिमालयन शेर्पामा आबद्ध थिए। यस्तै उनीसँग मध्यपुर युथबाट खेलेको अनुभव छ।
कञ्चनपुरको महेन्द्रनगर घर भएका अर्पण यू–१४ टिममा छनोट हुँदै एन्फा एकेडेमीमा भित्रिएका थिए। एन्फा एकेडेमीमा प्रभावशाली प्रदर्शनसँगै उनी गत वर्ष नेपाली यू–१९ टिमको कप्तान चुनिएका थिए। उनको कप्तानीमा नेपालले भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।