डडेलधुरा– डडेलधुराको गन्यापुरा गाउँपालिका–१, असिग्रामका २ युवा खाडी मुलुकको भिसा त्यागेर च्याउ खेतीमा लागेका छन्। ५ लाख रुपैयाँको लगानीमा ‘असिग्राम कृषि फार्म’ दर्ता गरी उनीहरु व्यावसायिक च्याउ खेतीतर्फ अग्रसर भएका हुन्।
मलेसियाबाट आएको भिसा त्यागेर युवाद्वय भुमिराज र विष्णु भट्टले काठमाडौँमा च्याउ खेती सम्बन्धी तालिम लिएपछि अहिले सो व्यवसाय सुरु गरेका छन्। बुधबार एक कार्यक्रमबीच गन्यापुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले च्याउ फार्मको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले युवाहरुले गरेको च्याउ खेतीको प्रशंसा गर्दै एक महिनाभित्र अनुदान उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे। गाउँपालिकाले कुल बजेटको ३५ प्रतिशत रकम कृषि क्षेत्रमा लगाएको स्मरण गराउँदै अध्यक्ष मल्लले गन्याधुरा कृर्षिको लागि उपयुक्त माटो भएको ठाउँ भएकाले सबैलाई व्यावसायिक कृषि गर्ने सुझाव दिए।
जिल्ला कृषि विकास कार्यालय डडेलधुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले कार्यालय किसानहरुलाई प्राविधिक सहयोगका लागि सधैँ तयार रहेको बताए। उनले जिल्लामा सुपर जोन कार्यक्रम लागू भएकाले अब यो क्षेत्रलाई च्याउ उत्पादनको पकेट क्षेत्र बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।
दुवै युवाहरुले व्यक्तिगत लगानीमा उत्पादन गरेको च्याउलाई बजारको समस्या हुने गुनासो गरे। अहिले फार्मले दैनिक ४५ देखि ६० किलोसम्म उत्पादन गरी बिक्री गरी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।