काठमाडाैं- नेपाली मूलका बर्मेली कुमार कार्कीले आफ्नो जीवन भोगाइमा आधारित पुस्तक 'जीवन संघर्ष' ल्याएका छन्।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, अध्यात्मिक गुरु चिन्तामणि योगी र पत्रकार रामकृष्ण रेग्मीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरे।
थाई नेपाली संघको अध्यक्ष समेत रहेका कार्कीले पुस्तकमा बर्मा, थाइल्यान्ड र नेपालमा गरेको अनुभव समेटेका छन्। यसका साथै बर्मामा नेपालीहरूको प्रवेशदेखि उनीहरूको जीविकोपार्जनको सुरुवातदेखि सयौं वर्षसम्म नेपाली भेष, भाषा र संस्कृतिको जगेर्ना कसरी गरे भन्नेसम्मका प्रसंग बुनेका छन्। बर्मामा हाल नेपाली मूलका करिब तीन लाख तथा थाइल्यान्डमा एक लाखभन्दा बढी मानिस बसोबास गर्छन्।
दोस्रो विश्वयुद्धदेखि बर्मा र थाइल्यान्डमा बसिरहेका नेपाली मूलका व्यक्ति र तिनका संस्थाले आफ्नो पहिचान कायम राखिरहन गरेका कामबारे पनि पुस्तकमा उल्लेख गरिएको छ।
चार भागमा बाँडिएको पुस्तकको पहिलो खण्डमा बर्मामा नेपालीहरूको बसोबासको सुरुवातको कथा समावेश छ भने दोस्रो खण्डमा एउटा आप्रवासी कामदारको रूपमा थाइल्यान्डमा गरेका दुःख र संघर्षका पाटा समावेश छन्। यस्तै, तेस्रो खण्डमा थाइल्यान्डमा नेपालीहरूको संगठित प्रयासको कुरा छ भने चौथो खण्डमा नेपालमा दुई वर्षअघिको भूकम्पपछि थाई नेपाली संघको तर्फबाट भएका सेवा र सहकार्यका विवरण समावेश छन्।
मिडिया सर्भिस नेपालले प्रकाशन गरेको पुस्तक यसअघि बर्मा र थाइल्यान्डमा विमोचन भइसकेको छ। पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम सामाजिक काममा लगाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।