सुर्खेत- पछिल्लो समयमा शाखा विस्तारलाई आक्रामक रुपमा अगाडि बढाएको नबिल बैंकले सोमबार एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत, कैलालीको टीकापुर र दाङको लमहीमा नयाँ शाखा स्थापना गरेको हो।
बैंकको सुर्खेत शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले शाखाको संयुक्तरुपमा गरे।
बैंक शाखाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले बैंकको आगमनसँगै कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्ने अपेक्षा गरेको बताए। उनले बैंकले दिने सेवा-सुविधाबाट प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै बैंकलाई साझेदार संस्थाको रुपमा लिने उल्लेख गरे।
बैंक सञ्चालक समितिका अध्यक्ष पौड्यालले समाजमा छरिएर रहेका समुदायलाई बैंकिङ आवश्यकता पूरा गर्नु बैंकको उद्देश्य रहेको बताए। उनले उद्यमशीलता, रोजगारी सिर्जनामा पनि टेवा पुर्याउने उल्लेख गरे।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समाजका विभिन्न तहलाई बढीभन्दा बढी सेवा उपलब्ध गराउन मुलुकभर शाखा स्थापना गरेको बताए। उनले कर्णाली प्रदेशमा थप ५ वटा शाखा स्थापना गर्ने लक्ष्य रहेको समेत जानकारी दिए।
बैंकले हाल ६२ वटा शाखा, १०९ वटा एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत सेवा दिइरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।