बेनी– रोजगारीका लागि मलेशिया पुगेका म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२, रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ।
गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा नै परियार मृत भेटिएका थिए। मृतक परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको मृतकका भिनाजु सुनिल परियारले जानकारी दिए।
‘कम्पनीले नेपाली दूतावासले एउटा कागज नदिएको बताउँछ। दूतावासमा फोन गर्दा विभिन्न बहाना बनाउँछन्।’, मृतकका भिनाजु सुनिलले बताए। गत आइतबार मृत्यु भएका परियारको शव एक सातासम्म अस्पतालमै रोकिँदासमेत दूतावासले सामान्य पहल नगरेको त्यहाँ कार्यरत नेपालीको गुनासो छ।
‘नेपालीकै लागि काम गर्न बसेका दूतावासका कर्मचारीलाई मृत्युको कुनै वास्ता छैन।’, मृतक परियार कार्यरत एसएच कम्पनीका एक नेपालीले भने।
कम्पनीले मृतकको शवलाई तत्काल अस्पतालमा पुर्याएर आवश्यक प्रक्रिया पुरा भइ नेपाल लैजान तयारी अवस्थामा रहेको बताएको ७ दिन बितिसक्दासमेत नेपाली दूतावासबाट सहयोग नभएको भन्दै नेपालीले आक्रोश पोखेका छन्।
घरबाट आफन्तले मृतक परियारको शवलाई स्थानीय बेली खोलामै अन्त्येष्टिको चाहना व्यक्त गरेपछि कम्पनीमा कार्यरत नेपालीले पहल गरेका थिए। यता काठमाडौँमा रहेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले श्रम मन्त्रालय लगायत सरकारी निकायमा पहल भइरहेको बताए।
‘नेपालमा शव ल्याए हामीले आफैँ गाउँमा पुर्याउँछौँ। तर शव ल्याउनै समस्या भइरहेको छ।’, अध्यक्ष रोकाले भने। उनले शव ल्याउन मलेशियामै प्रक्रिया रोकिएको बताएपछि थप पहल गरिने आश्वासन दिएका छन्।
करिब ५ वर्ष अगाडि मलेशिया पुगेका परियारको परिवारिक अवस्थासमेत निकै नाजुक छ। आर्थिक अवस्था कमजोर भएकै कारण किरिया खर्चलगायत थप सहयोग जुटाउनु पर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।