काठमाडौं– मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध गाँसिएको नर्सिङ जनशक्तिलाई अस्पतालहरुले ठेक्कामा लिने गरेको भेटिएको छ। कलेज अफ मेडिकल साइन्सेज भरतपुर, किस्ट मेडिकल कलेज ललितपुर र मणिपाल मेडिकल कलेज पोखराका शिक्षण अस्पतालले यसरी रिक्रुमेन्ट कम्पनीसँग नर्सिङ जनशक्ति लिने गरेको भेटिएको नेपाल नर्सिङ संघले जनाएको छ।
नर्सहरुको श्रम शोषण भइरहेको भन्दै सर्वत्र आवाज उठिरहेका बेला त्यसलाई छल्न अस्पतालहरुले घुमाउरो बाटोबाट नर्स भर्ती गरेका हुन्। श्रम ऐनमा उल्लेख भए अनुसारको न्यूनतम पारिश्रमिक समेत नदिई उनीहरुले काममा लगाइरहेको गुनासोपछि यसको कारण खोज्दै जाँदा अर्कै कम्पनीसँग सहमति गरिएको भेटिएको हो। चितवनमा मात्रै अस्पतालले ६० जना नर्स अर्कैलाई ठेक्कामा दिएर काममा लगाएका छन्।
३ महिना तलब विहीन
रिक्रुमेन्ट कम्पनीले पहिलो तीन महिना नर्सलाई तलब नदिई खाजा खर्च मात्रै दिने सम्झौतामा उल्लेख छ। तीन महिना परीक्षणकाल रहने भन्दै खाजा खर्च वापत ५ हजार रुपैयाँ मात्रै दिइने स्पष्ट पारिएको छ। तर, कर्मचारी भर्नाका परीक्षाहरु पार गरेर काममा लगाइएका कर्मचारीलाई तलब नदिनु श्रम ऐन विपरीत भएको नर्सिङ संघकी वरिष्ठ उपाध्यक्ष गंगा थापा बताउँछिन्। उनले भनिन्, ‘कर्मचारी ठानेर काममा राख्ने र काम पनि कर्मचारीसरह नै लगाउने भएपछि तलब पाउनुपर्छ। तीन महिना तलब नदिइनु सरासर श्रम शोषण हो।’
श्रम ऐनमा काम थालेदेखि तलब मात्रै होइन, सञ्चय कोष र उपदान पनि पाउनुपर्ने उल्लेख छ। यति मात्र होइन, श्रम ऐन अनुसार दक्ष कामदारले न्यूनतम १४ हजार रुपैयाँ पाउनुपर्छ। अदक्ष कामदारको समेत न्यूनतम पारिश्रमिक ९ हजार तोकिएको छ। तर, रिक्रुटमेन्ट कम्पनीले बेसिक तलब जम्मा ६ हजार २ सय मात्रै दिइने उल्लेख गरेको छ। सबै भत्ता जोड्दा पनि नर्सहरुको पारिश्रमिक १३ हजार एक सय ३५ मात्रै हुन आउँछ।
जोखिम नर्समाथि !
दोस्रो संस्थाबाट लिइएको हुनाले नर्सहरु अस्पतालका कर्मचारी नहुने सम्झौतामा उल्लेख छ। मानव स्वास्थ्यसँग जोडिएको पेसा भएकाले बिरामीलाई जे पनि हुन सक्छ। उपचारका लागि अस्पताल गएको बिरामी निको भएरै फर्किन्छ भन्ने ग्यारेन्टी हुँदैन। राम्रो गर्न खोज्दाखोज्दै पनि कहिलेकाहीँ समस्या आइपर्छ। तर, सम्झौतामा यतिसम्म चलाखी गरिएको छ, भैपरी आउने घटनाको जिम्मेवार नर्स नै हुनुपर्ने बताइएको छ।
नेपाल हेल्थ प्रोफेसनल रिक्रुमेन्ट कम्पनी प्रालि चितवनले एक नर्ससँग गरेको सम्झौतामा भनिएको छ, ‘द्वितीय पक्षको लापरवाही र हेलचेक्र्याइँबाट चोरी तथा दुर्घटना भएको अनुसन्धानबाट प्रमाणित भएमा द्वितीय पक्षले क्षतिको जिम्मेवारी वहन गर्नुपर्नेछ।’ अस्पतालमा हुने दुर्घटनाको जिम्मेवार प्रायः नर्सलाई बनाउने परिपाटी रहेका बेला भएको यस्तो सम्झौताले नर्सहरुलाई समस्यामा पार्ने नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल बताउँछिन् ।
आफूमाथि अन्याय पर्दा अपनाउने विरोधको बाटो पनि घुमाउरो ढंगले बन्द गरिएको उनले बताइन्। उनले सम्झौताको एउटा बुँदा उल्लेख गर्दै भनिन्, ‘आफूले अस्पतालमा अशान्ति सिर्जना गरेमा मात्रै होइन, अरुलाई उक्साएको खण्डमा पनि निस्कासन गर्ने लेखिएको छ।’ अस्पतालको अभिन्न अंगका रुपमा रहने नर्सिङ जनशक्तिलाई बाहिरबाट ठेक्कामा लिन थालेपछि अस्पतालले दिइरहेको उपचार सेवामाथि प्रश्न उठेको छ। नर्सिङ संघकी वरिष्ठ उपाध्यक्ष थापा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको बताउँछिन्।
‘अस्पताल बाहिरको कम्पनीले नर्सिङ जनशक्ति निर्यात गर्दा जहाँ पनि पठाउन सक्छ’, उनी भन्छिन्, ‘गुणस्तरीय सेवा दिने हो भने नियमित उपचारमा सहभागी नर्स जरुरी हुन्छ। किनकि उसलाई बिरामीको स्वास्थ्य अवस्थादेखि अन्य अवस्थासम्म ज्ञान हुन्छ।’ स्वास्थ्य क्षेत्र संवेदनशील विषय भएकाले ठेक्कामा नर्सहरु लिन पाउने वा नपाउने भन्ने विषयमा श्रम मन्त्रालयमा समेत छलफल भइरहेको थापाले बताइन्।
यस्ता क्रियाक्लापले नर्सहरुको श्रम शोषण भइरहेको भन्दै नेपाल नर्सिङ संघले आपत्ति जनाएको छ। यस विषयमा नर्सहरुको एक टोलीले आइतबार श्रममन्त्री गोकर्ण विष्टलाई भेटेको छ । नर्सहरुमाथि श्रम शोषण भइरहेकाले रोक्नका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष पोखरेलले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।