गैंडाकोट– करिब समान उमेरका २ युवा मञ्चमा छन्। उनीहरुको ठिक अगाडि पनि अधिकांश उस्तै छिमलका तन्नेरीको उपस्थिती नै बढी देखिन्थ्यो। आडमै बगिरहेको नारायणी नदीको शितल हावालाई चुनौति दिनेगरी गजलकार सुमन मुस्कान र दिलु थापा मगरले गजल सुनाईरहँदा शनिबार युवाहरुको वर्चस्व रहेको नारायणी रिसोर्टको हल गजलमय बनेको थियो।
‘कफी र काफिया’ को सातौँ शृंखलाको रुपमा सिर्जन साहित्य प्रतिष्ठान, गैंडाकोटले कार्यक्रमको संयोजन गरेको हो।
आज फेरी गाँउमा शङ्ख बजेको रहेछ
अब यी फूलहरु लाससित जल्नेछन्।
जीवनको एक मेट्न नसकिने सत्य मृत्युको परिवेशलाई समेटेर लेखेको ‘कोमल’ सेरबाट गजल वाचन सुरु गरेका गजलकार मुस्कानले सुरुवाती माहोललाई गम्भीर बनाइदिए। वाचनमा बिस्तारै खुल्दै मुस्कानले अन्ततः आफ्नो नाममाथि न्याय गर्न सके। जसले उपस्थित गजलअनुरागीको मुहारमा मुस्कान छायो।
नवलपुरको डन्डामा जन्मिएर चितवनमा आफ्नो गजलकारितालाई हुर्काएका मुस्कानले सेरमार्फत आफ्ना बाल्यकालका स्मृतीहरुलाई समेत ताजा गर्न भ्याए।
कत्ती मिठो मानीमानी खाइन्थ्यो
साच्चै बचपनमा अचार माटोको।
जुन चेहरामा ‘मुस्कान’ हुनेछैन
बन्नेछ त्यो अनुहार माटोको।
गजलका सेरहरु सुनाउँदा उनले श्रोताको राम्रो साथ पाए। वाहवाही गरिरहेका श्रोताहरुले गजलका सेरहरु दोहोर्याउन आग्रह गर्दा गजलकार सुमन मुस्कान मुस्कुराउँदै श्रोताहरुप्रति आफ्नो सम्मान जाहेर गर्थे र सेरलाई दोहोर्याउँथे। जीवन, दर्शन, माया, प्रेम तथा सामाजिक विसंगतीलाई गजलमा जोड दिएका मुस्कानले केहि सेरहरुमा तखल्लुसको निकै राम्रो ढंगबाट संयोजन गरेका थिए।
कति सम्मको कायर रहेछ दुस्मन
‘मुस्कान’लाई मार्न प्रेमिका पठाएछ।
अर्कातर्फ प्रसन्न मुद्रामा गजल सुनाउन सुरु गरेकी गजलकार मगरले पनि आफ्ना अनुभुति मिश्रित गजलहरुलाई नै पस्किन भ्याइन्।
गजलकार मगर विशेषगरी बहरमा गजल लख्छिन्। केहि गजलहरु वाचन गरेरै सुनाएपनि उनले केहि सस्वर गजल प्रस्तुत गर्दै आफ्नो गायन कला समेत देखाइन्। गजल वाचनको बृहत माहोलमा पहिलोपटक उभिएको बताउँने मगरको अनुहारमा हडबडाहट देखिन्नथ्यो। बरु गजल र प्रस्तुति दुवै दरिलो र प्रभाव छोड्ने खालको अनुभुति हुन्थ्यो।
छातीको माथि केवल मर्दा हो फूल देख्ने
जिउँदो हुँदा सधैँभर सबको हृदयमा घन छ।
साहित्यिक कार्यक्रममा खासै उपस्थिति नजनाउने मगर लेखनमा भने उत्तीकै सक्रिय छिन्। उनको संयुक्त सङ्ग्रह ‘गजल इन्द्रेणी’ प्रकाशनमा आइसकेको छ। गजलका सेरमा विषय गम्भिर्यतालाई बलियोसँग बाँध्नसक्ने मगरले शब्द चयनमा पनि उत्तीकै मिहनेत गरेको सुन्दा भान हुन्छ।
कोही हैसियत बुझ्न सक्दैन आफ्नो
रहर दूधको गर्छ डोको भएर।
कार्यक्रममा दुवै श्रष्टाले ८/८ गजल सुनाएका थिए। वाचन गरिएका गजलमाथि समालोचक डा मतिप्रसाद ढकालले पाठकिय टिप्पणी राखे।नवलपुर क्षेत्रमा गजल गतिविधिलाई कायम राखिरहन युगल गजल वाचनको शृंखला ‘कफी र काफिया’ सुरु गरेको सिर्जन साहित्य प्रतिष्ठानका सभापति सुजन अधिकारीले बताए।
कार्यक्रम प्रत्येक महिनाको तेस्रो शनिबार आयोजना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।