प्रधामन्त्री केपी शर्मा ओलीले शनिबार कलाकारलाई बालुवाटारमा बोलाएर दिवाभोज दिए। भोजमा नेपाली कला क्षेत्रका हस्तीहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, बसुन्धरा भूषाल लगायत एक सयभन्दा बढी कलाकार सहभागी भए।
पूर्वनिर्धारित समयभन्दा झन्डै साढे दुई घन्टा ढिलो गरी प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा उपस्थित भए। त्यसअघि कलाकारहरु आफूलाई कम महत्व दिएको भन्दै मुर्मुरिन थालेका थिए। तर, प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यका क्रममा कलाकारको भूमिकालाई बढाइँचढाइँ गरे। फर्किँदा सबैको ओठमा प्रधानमन्त्रीको प्रशंसा मात्रै थियो।
प्रधानमन्त्री ओली र कलाकारबीचको जमघटबारे डिबी खड्काको शब्दचित्रः
‘कलाकारको ट्रिपल फ्यान म’
प्रधानमन्त्री ओलीले कलाकारहरुका कारण मान्छेको तनाव, पीर र चिन्ता हरण हुने बताए। उनले कलाकारिताको शक्तिलाई महाभारतका उपकथाहरुसँग समेत जोडे। आफूले पनि तनाव घटाउन फिल्म हेर्ने र संगीत सुन्ने गरेको उल्लेख गरे। उनले भने ‘म तपाईंहरुको कलाकै कारणले धेरैपल्ट तनावबाट मुक्त भएको छु।’
यसरी कलाको प्रशंसा गर्ने क्रममा ओलीले कलाकारहरु आफूलाई निकै मन पर्ने बताए। उनले ठट्यौली शैलीमा भने, ‘अचेल कलाकारलाई मन पराउनेलाई फ्यान कि के भन्छन्, होइन? त्यसो भए म तपाईंहरुको ट्रिपल फ्यान हुँ।’
नहाँस्ने र नरमाउनेमा मानवीय गुणको अभाव
प्रधानमन्त्री ओलीले कलाकारहरुले आफूलाई गुन लगाइरहेको सम्बोधनका क्रममा पटकपटक उल्लेख गरे। त्यसकारण आफू कलाकारहरुप्रति ऋणी रहेको भन्दै फुक्र्याए। कलामा मिठास हुने मात्रै होइन, यसले सकारात्मक ऊर्जा समेत दिने धारणा उनले राखे। ‘कलामा रमाउँदा शरीरमा राम्रा रसायन सक्रिय हुन्छन्। यसले चिन्तनमा सकारात्मक असर पार्छ,’ उनले भने।
फिल्म र गीत–संगीतमा रमाउन नसक्ने मान्छेमा मानवीय गुण अपुग रहेको समेत उनले बताए। भने, ‘जो हाँस्दैन, रमाउँदैन, ऊ मानवीय गुणको उचाइमा पुगेको मान्न सकिँदैन।’
मान्छेमा रहेको फरक गुण भनेकै हाँस्नु रहेको उल्लेख गर्दै रुन पशुले पनि जान्ने उल्लेख गरे।
फिल्ममा भूतका कथा र बोक्सी प्रथा
कलाका माध्यमबाट अन्धविश्वास फैलाउन नहुने प्रधानमन्त्रीको धारणा थियो। उनले सकेसम्म भूतका कथा फिल्ममा देखाउन नहुने कुरामा जोड दिए। उनले भने, ‘भारतीय फिल्म र सिरियलमा त जताततै भूत आउँछ। नेपालीमा त्यस्तो नगरौं। भूत हुँदैन।’
भूत नहुने कुरा कथा लेख्नेलाई समेत थाहा हुने भन्दै उक्त विषयलाई प्राथमिकता नदिन सुझाए। भूत अन्धविश्वास भएकाले यसले बोक्सी प्रथालाई समेत प्रश्रय दिने उनले बताए। उनले भने, ‘भूतका कथाले मान्छेलाई कमजोर र त्रास उत्पन्न बनाउँछ। बोक्सी प्रथा जस्ता अन्धविश्वासलाई प्रश्रय दिन्छ।’
दराजमा फोहर र दिमागमा खराब कुरा
सकेसम्म रमाइलो गर्ने र सकारात्मक कुरामा बढी जोड दिने आफ्नो स्वभाव रहेको बताए। त्यसैले आफू बोल्दा रमाइलो तरिकाले प्रस्तुत हुनेतर्फ संकेत गरे।
दराज र फोहरको प्रसंग उप्काएर उनले उपस्थित कलाकारलाई नकारात्मक कुराबारे प्रस्ट्याए। उनले भने, ‘तपाईं स्टिल वा काठको दराज किन्नुहुन्छ। त्यहाँ के राख्नुहुन्छ? राम्रो कुरा मात्रै, होइन र? कि फोहर पनि राख्ने गर्नुभएको छ? पक्कै छैन होला। टिनको दराजमा त फोहर राखिन्न भने त्यस्तो राम्रो दिमागमा खराब अर्थात् नकारात्मक कुरा किन राख्ने?’
देशको उन्नतिका लागि सबै क्षेत्रबाट सकारात्मक ऊर्जा र सोचको आवश्यकता रहेकोतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।
स्वस्थानीको नियम पछ्याउने कि !
शिक्षा देशको समृद्धिका लागि सबैभन्दा महत्वपूर्ण रहेको ओलीले बताए। त्यसैले आगामी बैशाख ५ मा विद्यार्थी भर्ना अभियानमा सहभागी हुन कलाकारहरुलाई आग्रह गरे। आफूले उक्त दिन स्कुल जाने उमेर पुगेकी तर स्कुल नगएकी कुनै गरिब बालिकालाई भर्ना गर्न लिएर जाने बताए। सरकारले यसलाई अभियानकै रुप दिन लागेको बताउँदै उनले भने, ‘अहिले हामीसँग ७ सय ६१ सरकार छन्। त्यसैले यी सबैले एउटा मात्रै भर्ना गरे भने पनि ७ सय ६१ जनाले शिक्षाको अवसर पाउँछन्।’ यो अभियानमा सबैतिरबाट साथ रहने अपेक्षा समेत उनले व्यक्त गरे।
सचेत नागरिकले आफ्नो सन्तानका साथै अरुलाई पनि स्कुल भर्ना गर्ने दायित्व रहने बताए। उनले स्वस्थानीको प्रसंग उप्काए, ‘स्वस्थानीमा भनिएको छ, आफ्नो छोरा नभए मितछोरा, मितछोरा नभए नजिकको नातेदार, त्यो पनि नभए अरु कोही। हो, त्यसैगरी भर्ना अभियानमा पनि आफ्ना नभए नातेदारका, नातेदारका पनि नभए अरुका सन्तानलाई पढ्न सघाऔं।’
सुष्माको सेल्फी
सेल्फी खिच्ने प्रचल सर्वत्र रहेको अहिलेको समयमा हितैषी वा ठूलाबडा मान्छे भेट्दा खिचिहाल्ने धेरैको बानी छ। त्यसमाथि हरदम क्यामेराकै अघिपछि रहने कलाकार यसका अझै बढी पारखी हुन्छन्। त्यसैले प्रधानमन्त्री निवासका मर्यादा पालकलाई सबभन्दा ठूलो टाउको दुखाइ सेल्फी नै थियो। कोही कलाकार प्रधानमन्त्रीसँग उभिएर मुख चुच्चो पार्दै मोबाइल तेस्याउँछ कि भनेर उनीहरु भनिरहेका थिए, ‘सेल्फी नलिनुहोला।’
तर, लागेको बानी कहाँ जान्छ र? अभिनेत्री सुष्मा कार्की प्रधानमन्त्रीसँगै उभिएर मोबाइलमा सेल्फी खिच्न कस्सिहालिन्। प्रधानमन्त्रीको पछाडि उभिरहेका एक मर्यादापालकले उनलाई कोट्याएरै भन्नुपर्यो, ‘सेल्फी नलिनुहोस्।’ प्रधानमन्त्री ओलीले चाल पाएपछि व्यंग्यात्मक शैलीमा भने, ‘अगाडिबाट फोटो खिच्दा पनि राम्रै आउँछ।’
सुष्मा त लाजले रातोपिरो!
‘करिष्मा मन पर्छ’
करिष्मा मानन्धर अघिल्लो वर्ष कक्षा ९ मा भर्ना भएकी थिइन्। पढाइ निरन्तर छ कि त्यो ‘स्टन्ट’ बेमौसमी भइसक्यो, उनै जानून्। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा विद्यार्थी भर्ना अभियानलाई महत्व दिएपछि उपस्थित एक रंग पत्रकारलाई करिष्मा त्यसको ‘ब्रान्ड एम्बेस्डर’ हुन सक्छिन् भन्ने लागेछ। उनले गेटबाट प्रधानमन्त्री बाहिरिँदै गर्दा सोधे, ‘भर्ना अभियानमा करिष्मालाई ब्रान्ड एम्बेस्डर बनाउनेबारे के सोच्नुभएको छ प्रधानमन्त्रीज्यू?’
सँगै रहेकी करिष्माले प्रधानमन्त्री ओलीतिर आशावादी नजर फ्याँकिन्। प्रधानमन्त्री ओली मुस्कुराए र जवाफ दिए, ‘अहिले केही सोचेको छैन।’ दुई पाइला हिँडेपछि प्रधानमन्त्री ओलीलाई लागेछ, करिष्माको चित्त पो दुख्यो कि? उनी पछि सरे र करिष्माको नजिक पुगेर मुस्कान छाड्दै भने, ‘करिष्मा मन पर्छ मलाई।’
‘रातामकै’को ठट्टा र निजी खर्चमा दिवाभोज
प्रधानमन्त्री ओलीको सम्बोधनपछि दिवाभोजको कार्यक्रम गर्ने तय गरिएको थियो। तर, निर्धारित समयमा प्रधानमन्त्री आउन सकेनन्। कार्यक्रम सञ्चालनको जिम्मा पाएका दिनेश डिसीले सेड्युल परिवर्तन भएको भन्दै भोजपछि सम्बोधन हुने बताए।
खाना खाने नियमित समय घर्किसकेकाले धेरैलाई भोक लाग्नु स्वाभाविकै थियो। त्यसैमाथि किरण केसी ‘रातामकै’ को स्वभाव नै ठट्यौलो छ। प्लेटभरि खाना लिएर आइपुगेका उनले गायकद्वय स्वरुप र सत्यराज आचार्यको टेबल ज्वाइन गर्दै ठट्टा गरे, ‘म मेरो पैसामा पनि यति नै खाने हो!’ उनले खाना खाँदै गर्दा फेरि मजाक गरे, ‘यो पनि सरकारी खर्चको भोज हो। त्यो हामीले नै कर तिरेको पैसाको त हो।’
कहिलेकाहीँ बाघ कराउनु र बाख्रा हराउनुको संयोग हुन्छ। भइदियो त्यस्तै। प्रधानमन्त्रीले सम्बोधनका क्रममा प्रसंग मिलाएर देशको ढुकुटी बलियो नभएको भन्दै भोज सरकारी खर्चमा नभएको स्पष्ट पारे। उनले भने, ‘तपाईंहरुसँग हार्दिकता बाँड्न दिवाभोजको आयोजना गरेको हुँ, तर खर्च सरकारी होइन।’
बिचरा ! ठट्टा गर्ने रातामकैलाई पो लाग्यो होला, ‘यो त मेरै मजाकको जवाफ भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।