काठमाडौं- गीता रेग्मीको नियात्रासंग्रह ‘पत्थरै पत्थर’ सार्वजनिक भएको छ। राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा प्राध्यापक राजेन्द्र सुवेदी, साहित्यकार गीता केशरी, डा सावित्री कक्षपति, नियात्राकार मोहन चापागाई, साहित्यकार राजकुमार राई, थाई नेपाल संघका अध्यक्ष कुमार कार्की, शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डे र शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले संयुक्त संग्रहको विमोचन गरे।
पुस्तकमाथि बोल्दै मोहन चापागाईले बर्मा, थाइल्यान्ड घुमेको जस्तो अनुभूति आफूले गरेको बताए। 'यात्रा गर्नेहरुका लागि पुस्तक सारथि जस्तै हुनेछ,' उनले भने।
अर्की वक्ता डा कक्षपतिले पाठकलाई आफूसँगसँगै हिँडाउने शक्ति लेखकमा रहेको भन्दै प्रशंसा गरिन्।
प्रा सुवेदीले संग्रहमा सरलता र मिठासपूर्ण भाषाशैली रहेको भन्दै पठनयोग्य रहेको धारणा व्यक्त गरे।
संग्रह बर्मा, थाइल्यान्ड र मलेसियाको यात्रा वर्णनमा केन्द्रित छ। शिखा बुक्सले प्रकाशन गरेको संग्रहको मूल्य २५० रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।