काठमाडौं– राष्ट्र निर्माण मञ्चले भूकम्प प्रभावित ६ जिल्लाका १६ हजार प्रभावितलाई निःशुल्क कानूनी परामर्श तथा शिक्षा उपलब्ध गराएको छ।
मञ्चले शुक्रबार आयोजना गरेको कार्यक्रममा करिब २ वर्षमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र गोरखाका प्रभावितलाई शिक्षा दिएर २० प्रतिशतलाई लाभग्राही सूचीमा समावेश गरेको जानकारी दिएको छ।
मञ्चले भूकम्प प्रभावितमाथि गरेको अध्ययनानुसार प्रभावितले अनुदान सम्झौता नगरेको, पहिलो किस्ता प्राप्त गरेर दोस्रो किस्ता नपाएको र स्थनीयमा बैंकिङ प्रणालीसम्बन्धी ज्ञान नभएको पाइएको छ। मञ्चका अनुसार सहुलियत तथा सामूहिक दुवै किसिमको ऋण प्रभावितले पाउन सकेका छैनन् भने गरीबीका कारण पीडित परिवारभित्र घरेलु हिंसा हुने गरेको देखिएको छ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले देशका ३२ जिल्लामा करिब १ लाख घर निर्माण भइसकेको र अब ४ लाख बन्ने क्रममा रहेको जानकारी दिए।
उनका अनुसार देशभर ७ सय ५३ सम्पदा क्षति भएकामा १ सय सम्पदा निर्माण भइसकेको छ। तर केही कानूनी जटिलताले पीडितलाई रकम दिन नसकिएको र सम्पदाका काम अगाडि बढ्न नसकेको उनले जानकारी दिए।
मञ्चका अध्यक्ष निर्मल उप्रेतीले आगामी दिनमा दोलखा र सोलुखुम्बुमा पनि कानूनी क्लिनिक सञ्चालन गरिने जानकारी दिँदै जनप्रतिनिधिलाई केही कानूनी अज्ञान देखिएका विषयमा परामर्श उपलब्ध गराइने योजना रहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।