काठमाडौँ- नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ सुरु गरेको छ। टेलिकमद्वारा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरे।
कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ। यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र सो रकम पछि गरिने रिचार्ज रकमबाट काटिनेछ। यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्नेछैन।
कम्तीमा तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ।
'यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ,' प्रवक्ता वैद्यले भनिन्। एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ। सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।