काठमाडौं– लाखौं रुपैयाँको चिठ्ठाको प्रलोभनमा ठगी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले उदयपुरको त्रियुगा नगरपालिका ३ का रेवतकुमार खाती, महेशकुमार पाण्डे र रोशन विकलाई पक्राउ गरेको हो।
उनीहरुले पवित्रा खतिवडा लगायत व्यक्तिलाई २५ लाख रुपैयाँको चिठ्ठा परेको र त्यसको करवापतको पैसा पठाउन लगाएर ठगी गरेको प्रहरीले जनाएको छ।
भारतीय नम्बरबाट उनीहरुलाई चिठ्ठा परेको भन्दै म्यासेज आएको थियो। त्यसकै विश्वास गरी उनीहरुलाई मनी ट्रान्सफरमार्फत पैसा पठाएका थिए।
पक्राउ परेका तीन जना पैसा बुझ्ने व्यक्ति हुन्। भारतीय व्यक्तिहरुको निर्देशनमा आफूहरुले पैसा संकलन गरेको उनीहरुले बताएका छन्। गिरोहका मुख्य नाइकेहरु भने भारतमा रहेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
चिठ्ठाका नाममा ठगी गर्ने गिरोह देशभरि नै सक्रिय रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।