रमेश गिरी/रासस
भक्तपुर- कार्यकक्षमा प्रवेश गरेलगत्तै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा टेबुलको कम्प्युटरमा पुग्छ। कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन् भनेर उनी कम्प्युटरबाटै थाहा पाउँछन्। नगरपालिकाको १० वटै वडा कार्यालयका वडा अध्यक्षदेखि कर्मचारीसम्मले गरेको हाजिर, १० वटा स्वास्थ्य चौकीका कर्मचारी र ९ सामुदायिक विद्यालयका प्रिन्सिपल र शिक्षक शिक्षिकाले हाजिर समेत उनी यसरी नै हेर्ने गर्छन्।
प्रत्येक दिन बिहान १०:१५ बजेभित्र नगरपालिका, मातहतका वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारीको हाजिर हरेपछि उनले आँखै अगाडिको सिसी क्यामरा हेर्ने गर्छन्।नगरपालिकादेखि वडा कार्यालयसम्म काम भइरहेको छ कि छैन, सेवाग्राहीको भिड कति छ भन्ने जानकारी पनि उनी सिसी क्यामेराबाटै लिने गर्छन्।
नगरपालिकाले प्रत्येक वडा कार्यालय, प्रत्येक स्वास्थ्य चौकी र सामुदायिक विद्यालयमा ‘अनलाइन सिस्टम’ जोडेपछि यो कार्य सहज भएको नगरपालिकाका सूचना प्रविधि संयोजक दीपेश खड्काले जानकारी दिए। 'नगरपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी र ९ वटा विद्यालयमा ‘इ–हाजिरी र सिसी क्यामरा जडान गरेको छ, नगरपालिकासँग सबै कार्यालयको सर्भर जोडिएकाले कर्मचारीले कति बजे हाजिर गरे, कति बजे गए भनेर प्रमुखले आफ्नै कार्यकक्षबाट हेर्न सक्ने गरी प्रविधि जडान गरिएको छ,' उनले भने।
नगर प्रमुखले हाजिरीदेखि सिसी क्यामरामार्फत आफ्नै कक्षमा बसेर वडा कार्यालयको गतिविधि, सेवाग्राहीको भिड, कर्मचारीको उपस्थिति हेर्ने गरेको बताउँदै उनले मोबाइलमा समेत एप राखिएकाले उनी जुनसुकै ठाउँमा बसेर पनि निगरानी गर्न सक्ने व्यवस्था गरिएको बताए।
नगर प्रमुख थापाले आफ्नै कार्यकक्षमा बसेर कर्मचारीको निगरानी गर्ने गरेको बताए। '१०:१५ बजेसम्म कोको कर्मचारी आए, आएनन्, कति बजे कर्मचारी घर गए, कोको बिदामा छन्, कति राजश्व संकलन भयो, सेवाग्राहीको काम भए भएन निगरानी गर्ने गर्छु,' उनले भने। १०:१५ बजेभन्दा ढिलो आउने कर्मचारीको हाजिरी स्वतः रद्द हुने बताउँदै उनले कर्मचारीले गलत गरे तत्कालै कारबाही गरिने बताए।
वडा कार्यालयका अध्यक्ष, कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, विद्यालयका कर्मचारीले बिदा बस्नु परे नगरपालिकालाई अग्रिम जानकारी गराएर बिदा स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ। नगरपालिकाले आफ्नो क्षेत्रभित्रको मुख्य चोकचोकमा सिसी क्यामरा जडान गर्ने भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।