नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोबाइल एपले प्रयोगकर्ताहरुको व्यक्तिगत सूचना पूर्व जानकारी वा स्वीकृतिबिनै रेकर्ड गर्ने गरेको खुलासा भएको छ।
मोदीको मोबाइल एप्लिकेसनले प्रयोगकर्तालाई थाहै नदिई वा स्वीकृतिबिना नै उनीहरुको निजी तथ्यांक तेस्रो पक्षलाई दिने गरेको खुलासा एक अनुसन्धानकर्ताले गरेका हुन्।
एलिअट एन्डर्सनको छद्म नाम प्रयोग गरी ट्विटर चलाउँदै आएका ती सुरक्षा अनुसन्धानकर्ताले मोदीको एप्लिकेसनले प्रयोगकर्ताको निजी सूचना चोर्ने र तेस्रो पक्षलाई पठाउने गरेको खुलासा शृंखलाबद्ध रुपमा शनिबार नै ट्विट गरेका थिए।
जब तपार्ईंले अफिसियल नरेन्द्र मोदीको एन्ड्रोइड एपमा प्रोफाइल क्रिएट गर्नुहुन्छ, तपाईंको सबै विवरण (ओएस, नेटवर्क टाइप, क्यारिअर आदि) र अन्य निजी सूचना (इमेल, फोटो, नाम, लिंग आदि) सबै जानकारी तपाईंको पूर्वस्वीकृति बिना नै तेस्रो पार्टीको डोमेनमा जान्छ जसको नाम हाे, http://in.wzrkt.com
यस लगत्तै उनले रेकर्ड राख्न प्रयोग भइरहेको कम्पनीबारे थप विवरण ट्विट गरेका छन्।
यसरी चोरी हुने गरेको जानकारी एवं सूचना अमेरिकामा रहेको एक कम्पनीमा पठाइने गरिएको ती सुरक्षा अध्ययनकर्ताले ट्विटमा भनेका छन्। यता, मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले भने उक्त दाबीको खण्डन गर्दै सूचना चोर्ने गरेको आरोप झुटो भएको दाबी गरेको छ।
साथै, भाजपाले प्रयोगकर्ताहरुको डाटा उनीहरुको रुची अनुसारको सामग्री दिनका लागि अध्ययन गर्न प्रयोग गरिरहको दाबी समेत गरेको छ।
यता, मोदीको एपमा रहेको सुरक्षा खतराबारे सार्वजनिक भएपछि भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले ट्विट गर्दै मोदीको आलोचना गरेका छन्।
‘हाइ, मेरो नाम नरेन्द्र मोदी हो। म भारतको प्रधानमन्त्री हुँ। मेरो अफिसियल एपमा साइन अप गर्नुस्, म तपाईंका सबै डाटा अमेरिकामा रहेका मेरा अमेरिकी कम्पनीका साथीहरुलाई दिन्छु,’ राहुलले व्यंग्य गर्दै ट्विट गरेका छन्।
साथै, उनले केही मूलधारका मिडियालाई मोदीको यो कर्तुत ढाक्न भूमिका खेलेकोमा व्यंग्यात्मक धन्यवाद समेत दिएका छन्।
तर, भाजपाले भने राहुलले ध्यान आकर्षित गर्न खोजेको आरोप लगाउँदै खण्डन गरेको छ।
गत साता मात्रै पनि भारतका कानुन तथा आइटी मन्त्री रविशंकर प्रसादले क्यामब्रिज एट्लान्टिकासँग भारतीय कांग्रेस आईको सम्बन्ध रहेको बताएका थिए। गान्धीलाई उनको सामाजिक सञ्जालमा उक्त कम्पनीको भूमिकाबारे खुलस्त पार्न चेतावनी दिएका थिए। तर, अहिले भाजपाले जस्तै कांग्रेसले पनि त्यो समयमा आरोप अस्वीकार गरेको थियो।
‘राहुल गान्धी केही दिनयता उदात्त अवस्थामा छन्। एमआरआई र एनसिसीपछि उनले आज प्रविधिबारे आफ्नो विद्वता सार्वजनिक गरेका छन्। क्यामब्रिज एट्लान्टिकाको खुलासापछि अहिले उनी त्यस कुराबाट ध्यान अन्तै सार्न खोजिरहेका छन्, हिजो उनले न्यायपालिकाबारे कुरा उठाए र आज नमो एपबारे,’ भाजपाको ट्विटमा भनिएको छ।
साथै, पार्टीले संकलन गरिएका ती सबै डाटा विश्लेषणका लागि प्रयोग गरिएको दाबी गरेको छ।
भाजपाले ट्विटमा भनेको छ, ‘यसले प्रयोगकर्ताको रुचीको आधार र भाषामा सामग्रीहरु देखाउन सहयोग गर्नेछ। कृषिबारे जानकारी खोजिरहेका प्रयोगकर्ताले सम्बन्धित विषयका कुरा खोज्नलाई सहज हुनेछ। तमिलनाडूका प्रयोगकर्ताले तमिल भाषामै नयाँ र महत्वपूर्ण जानकारी पाउनेछन्।’
मोदीको नमो एपबारे खुलासा गरेका ती फ्रेन्च अनुसन्धानकर्ताले आइतबार फेरि एकपटक ट्विट गर्दै मोदीको एपले आफ्नो प्राइभेसी पोलिसी गुप्त रुपमा अपडेट गरेको जानकारी दिएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा नरेन्द्र मोदी नामक एप ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।