भैरहवा– औद्योगिक तथा व्यापारिक केन्द्रको रुपमा विकास भइरहेको रुपन्देहीको मंगलापुरमा वाटरपार्क सञ्चालनमा ल्याइएको छ।
जल पर्यटन व्यवसायमा लगानी गर्दै लगानीकर्ताले वाटरपार्क काठमाडौं बाहिरको दोस्रो भएको दाबी गरेका छन्। कोरियामा ७ वर्ष बस्दा वाटरपार्कमै काम गरेका बुटवल चाँदवारीका कृष्ण खनालको सोच अनुसार लुम्बिनी हेल्थ वाटर किङ्डममार्फत ३ वर्ष लगाएर वाटरपार्क निर्माण गरिएको हो।
६० जनाको साढे २ करोडभन्दा बढी रुपैयाँ लगानीमा ४४ कट्ठा क्षेत्रफलमा यो वाटरपार्क सञ्चालनमा ल्याइएको खनालले जानकारी दिए। वाटरपार्कमा बालबालिका, युवायुवतीदेखि जुनसुकै उमेरका व्यक्ति रमाउन सक्ने उनले बताए।
पार्कमा अहिले दुई वटा स्लाइडर पुल (पोखरी), एउटा वेभ (छाल) पुल र बच्चाका लागि एउटा टाइड्स पुल सञ्चालनमा आइसकेका छन्। पार्कको बीचमा रेष्टुराँसहितको वाटर बोटिङका लागि पोखरी खन्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ।
वाटरपार्कमा एक पटकमा १ हजार जनाले सेवा लिन सक्ने कम्पनीका अध्यक्ष गोपालबहादुर पोखरेलले बताए। पार्कभित्र पुरुष र महिलाका लागि छुट्टाछुट्टै स्थान र सुरक्षागार्ड, सेफ्टी टिचरको व्यवस्था समेत गरिएको उनले बताए। पार्कभित्र साकाहारी रेष्टुराँ पनि सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ।
वाटरपार्कको मंगलबार उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले फजुल खर्च र सान देखाउन अनावश्यक ठूला घर बनाउनुको साटो उद्यमशीलतामा लगानी गर्न आग्रह गरे।
उनले पर्यटनको विकासबिना देशको विकास हुन नसक्ने भन्दै पर्यटनका साथै पूर्वाधार विकासमा पनि उत्तिकै जोड दिन आग्रह गरे।
‘कुरा गरेर मात्र पर्यटन प्रवद्र्धन हुँदैन’ मुख्यमन्त्री पोखरेलले भने, ‘पर्यटकलाई आवश्यक पर्ने पूर्वाधारहरुमा लगानी गर्नुस्, तब मात्रै पर्यटन क्षेत्रबाट लाभ लिन सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।