काठमाडौं– पेस्तोलसहित पक्राउ परेका गुन्डा नाइके गणेश लामालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद दिएको छ। हातहतियार तथा खरखजनाम मुद्दामा जिल्ला प्रशासन कार्यालयले म्याद थप गरेको हो।
उनलाई फागुन ३० गते प्रहरीले पिंगलास्थानबाट पेस्तोलसहित पक्राउ गरेको थियो। लामालाई एक व्यक्तिले गोली हान्न खोजेको र लामाले पनि जवाफी फायर गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई गोली हान्न खोज्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। बयानमा लामाले भने बरामद पेस्तोल आफ्नो नभएको र प्रहरीले फसाएको दाबी गर्दै आएका छन्। पशुपती भिजनस्थित होटलको सिसिक्यामराको रेकर्डमा एक व्यक्तिसँग लामाले लछारपछार गरेको र लामाले नै पेस्तोल टिपेको देखिन्छ। तर, भिडियोमा अर्काेतर्फको व्यक्ति देखिदैन। लामाका परिवारले भने प्रहरीले नै उनीमाथि गोली हान्न खोजेको दाबी गरेका छन्।
काभ्रेली समूहका नाइके मानिने लामा नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय छन्। उनलाई छुटाउन कांग्रेस नेता बिजयकुमार गच्छेदारले दबाब दिदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।