काठमाडौं- राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ता थिए, प्रधानमन्त्री केपी शर्मा ओली। सन्दर्भ थियो, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षणको प्रतिवेदन सार्वजनिक गर्ने।
प्रमुख अतिथिका रुपमा सहभागी प्रधानमन्त्री ओलीले युरोपेली युनियनले हालै सार्वजनिक गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदनको चर्को आलोचना गरे। मन्तव्यको अधिकांश समय प्रधानमन्त्री ओलीले इयूको आलोचनामा खर्चिए। प्रधानमन्त्रीले युरोपेली युनियनको विषयमा राखेको मन्तव्य:
युरोपेली युनियनले अहिले निर्वाचन पर्यवेक्षण प्रतिवेदन भनेर जे पठाएको छ, त्यसबाट नेपालको सार्वभौम सत्तालाई कमजोर र हाम्रो उपलब्धिलाई कम ठान्दै हेपिएको हो। नेपालले त्यत्रा उपलब्धि लिएको छ। सानातिना कमजोरी हुन सक्छन्। तर, नेपाली जनताले बलिदानीपूर्ण र लामो संघर्षबाट यी उपलब्धि प्राप्त गरेका हुन्।
हाम्रो सन्दर्भमा हामी मतदातामा सचेतना कम छ भनेर मान्न सक्छौं। मतदाता सचेतनाबारे हामीलाई चुनौती दिनुअघि हिसाब हेर्नुपर्यो, हामीकहाँ करिब ८० प्रतिशत जनताले मत हालेको हिसाब देखिन्छ। यति मत खस्नु सचेत नभएर हो?
भोट हाल्न, छाप लगाउन जानेन होला, अर्को पल्ट सिक्छ। तर, प्रजातन्त्रप्रति, आफ्नो मतप्रति ८० प्रतिशत जनता सजग छन्। मेरो मतको के अर्थ छ भन्ने कुरामा जनता सचेत छन्।
२० प्रतिशत मत किन खसेन भन्ने कुरा आएका छन्। जनताले घरमै भईभई पनि भोट नखसाएका होइनन्। हाम्रा बाध्यता र अप्ठ्याराले भोट हाल्न नसकिएको हो। कोही अरबमा छौं, कोही मलेसियामा छौं, त्यसकारण भोट खसेन।
७३ प्रतिशत मात्र किन खस्यो भने १५ प्रतिशत मतदाता बाहिर छन्। भोट हाल्न बैशाख ३१ मा आउने कि? असार १४ मा आउन कि? आश्विन २ मा आउन कि? मंसिर १० मा आउने कि? मंसिर २१ मा आउन कि? कहिले-कहिले आउने? तर पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ।
अब मतपत्र छ, खेतालाले बोक्नुपर्ने जस्तो! यस्ता ठाँउमा बुढाबुढी अल्मलिन्छ। अलिकति मान्छेले बुझेन होला, तर नेपाली जनताको लोकतन्त्रप्रतिको सजगता असाधारण छ।
यस्तो जटिल बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा, त्यसमा पनि हाम्रो जस्तो देश, जहाँ युवा अवसरका लागि भनेर ४०/५० लाखको संख्यामा बाहिर छ। त्यसकारण सजगता यहाँ छैन भन्ने होइन।
म निर्वाचन पर्यवेक्षण र अरु नाममा समेत हाम्रा मित्रलाई भन्न चाहन्छु, हाम्रो सामाजिक प्रबन्ध, हाम्रो संविधान, हाम्रो उपलब्धिलाई अपमान गर्ने काम नगरियोस्, म सजग गराउन चाहन्छु। इयूको प्रतिवेदन जुन रुपमा आयो, त्यो सच्याउला भनेको, तर थप जिद्दीपूर्ण अभिव्यक्ति देखियो। यो दु:खद कुरा हो। मैले राष्ट्रको हिसाबले हेपिएको र अपमानित भएको महसुस गरेको छु।
म युरोपेली युनियनलाई अनुरोध गर्न चाहन्छु, यो विषयमा गम्भीर तरिकाले सोच्न अनुरोध गर्छु, नेपाल सार्वभौम मुलुक हो। त्यसकारण म भन्न चाहन्छु, हेप्ने काम नगरौं!
अरुको जस्तो कुनै धर्मग्रन्थमा हात राखेर, सपथ खाएर धर्मनिरपेक्षताको कुरा होइन, हामीले धर्मनिरपेक्षताको कुरा गरेका छौं। यो भन्दा ठूलो प्रजातान्त्रिक को हुन्छ?
हो, निर्वाचनको पर्यवेक्षण गर्न आएका एक/दुई जनालाई हामीले फिर्ता पठाउनुपर्यो। अनुगमनको नाममा आउने र धर्मप्रचार गर्ने! अरु बिजनेस, अरु खेती गर्ने कुरा चल्दैन थियो, त्यसकारण फिर्ता पठाइयो। त्यसको प्रतिशोध प्रतिवेदनमा लिने होइन, प्रतिवेदन त प्रतिवेदन जस्तो हुनुपर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।