विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वनको छैटौं वार्षिक सम्मेलनको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका लागि लायन्स क्लबको सहभागिता र सुझाव आवश्यक रहेका बताए।
मुख्यमन्त्री राईले जनताले आफ्नो हातले लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको पनि बताए।
मुख्यमन्त्री राईले देश हिजो लामो संक्रमणमा गुज्रेकामा अहिले राजनीतिक स्थायित्व कायम भई नयाँ युगमा प्रवेश गरेसँगै विकासका पूर्वाधार र आर्थिक उन्नतिका कार्यमा सहयोग पुर्याउन लायन्स क्लबको सहयोग आवश्यक रहेको औँल्याए। उनले लायन्स क्लबले सामाजिक उत्तरदायित्व बोध भई नयाँ उचाइमा सामाजिक कार्य र भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गरे।
लायन्स डिष्ट्रिक गर्भनर लिलाकुमार ढुंगेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न लायन्स डिष्ट्रिकका सदस्यलाई सम्मान गरिएको थियो। एकदिने वार्षिक सम्मेलनमा डिष्ट्रिक ३२५ ‘ए’ वनका काठमाडौंदेखि मेचीसम्मका एक हजार २ सय लायन्स सदस्यको सहभागिता रहेको लायन रोशन खडकाले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।