काठमाडौं– निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
शुक्रबार आयोजित कार्यक्रममा उनीहरुले ऐनमा व्यवस्था भएअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गरे। आधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले ऐनअनुसार कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने माग गर्दै खटाएको ठाउँमा कर्मचारी पुगे पनि काम गर्ने वातावरण नभएको जिकिर गरे।
कार्यक्रममा नेपाल कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले स्वेच्छिक अवकाशको व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरे। नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले आफूहरुले कहिल्यै स्वेच्छिक अवकाशको माग नगरेको भन्दै सरकारले आफैँले ल्याएको व्यवस्थालाई लागू गर्नुपर्ने बताए।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले सरकारले खटाएको स्थानमा कर्मचारी पुगेर काम गरिरहेको दावी गरे। मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले समृद्ध नेपाल निर्माणमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले सरकारले उचित किसिमको काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।