मुम्बई (एजेन्सी)– इमरान हासमी आफ्नो फिल्ममा प्रायः चुम्बन गर्ने दृश्यका कारण चर्चित छन्। त्यसैले उनलाई भारतीय सिनेमामा ‘सिरियल किसर’ को उपमा नै दिइएको छ। बलिउडमा आफ्नो बनेको यो इमेजको विषयमा उनी खुलेर चर्चा गर्छन्।
फिल्ममा उनले दिने गरेको चुम्बनको दृश्य निकै विवादित पनि हुने गरेको छ। उनी चुम्बनको दृश्य गर्दा क्यामेराको प्राविधिक पक्षभन्दा पनि अभिनेत्रीको ओठमा बढी केन्द्रीत हुने गरेको टिप्पणी दिँदै विवादमा परेका थिए।
इमरानको जन्म आजकै दिन २४ मार्च सन् १९७९ मा भएको थियो। उनी उत्तर प्रदेशको कन्नौजमा जन्मिएका हुन्। उनका बुवा अनवर हासमी पनि अभिनय गर्थे। उनकी आमा माहिरा हासमी निर्देशक महेश भट्टकी बहिनी हुन्। महेश र मुकेश भट्ट उनका मामा हुन्। र, पुजा, आलिया र मोहित सुरी भाई–बहिनी हुन्।
इमरानले बलिउडमा आफ्नो करिअरको सुरुवात २००३ मा विक्रम भट्टले बनाएको फिल्म ‘फुटपाथ’ बाट गरेका थिए। सन् २००८ मा रिलिज भएको ‘जन्नत’ फिल्म सुपर हिट भएको थियो।
इमरानले डिसेम्बर २००६ मा परविन सहानीसँग इस्लामिक रितिरिवाज अनुसार बिहे गरेका थिए। इमरानको एक छोरा पनि छन्, जसको नाम आर्यन हासमी हो। आर्यनलाई पहिलो स्टेजको क्यान्सर पनि भएको थियो। अहिले उनी स्वस्थ्य भइसकेका छन्।
इमरान हासमी अहिले भारतका पूर्व क्रिकेट कप्तान अजहरुद्दिनको कहानीमा आधारित बायोपिकमा काम गरिरहेका छन्। उनी युवराज सिंहको कहानीमा बायोपिक बने, त्यसमा पनि काम गर्न चाहन्छन्।
उनले केही समयअगाडि एउटा किताब लेखेका थिए, जसको नाम ‘किस अफ लाइफ’ थियो। यो किताब छोराको क्यान्सरसँगको लडाईमा आधारित छ। कसरी छोराले क्यान्सरसँगको लडाई जिते भन्ने अन्तरवस्तु भएका कारण अमिताभ बच्चन र शाहरुख खानले उनको किताबको खुब तारिफ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।