जनकपुरधाम– चैती छठ अन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन्।
मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजाअर्चना गरी पर्व समापन गर्ने परम्परा छ। वर्तालुले यहाँका इतिहासवर्णित गंगासागर र अरगजालगायत पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिएर आफ्नो खेतबारीमा उत्पादन भएका सामाग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानसहित सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।
अर्घ्यमा ठेकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसुवा, माटाको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो राखिन्छ। सूर्यलाई दिइने अघ्र्यमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ।
छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो। छठ पर्वमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ। अस्ताउने र उदाउने सूर्यलाई अभिनन्दन गर्नाको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।